
पर्वत/ मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार तीन सय ५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म उक्त शिविर सञ्चालन गरिएको थियो ।
आँखा जाँचका क्रममा ५१ जनामा मोतियाबिन्दु देखिएको थियो । उनीहरूको हिमालयन आँखा अस्पतालका विशेषज्ञद्वारा शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले परिवारको सहारा लिएर शिविरमा आएका वृद्धवृद्धा आँखा उपचारपछि आफैँ घर फर्किन सक्ने भएका छन् ।’
मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले लामो समयदेखि आँखाको ज्योति गुमाएर बसेका वृद्धवृद्धा यस शिविरबाट लाभान्वित भएको बताउनुभयो । वर्षौँदेखि आँखा नदेख्ने समस्या लिएर थलिएका वृद्धवृद्धा आँखाको ज्योति फर्किएपछि हर्षित बनेका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस