आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

नदी कटान रोक्न जैविक तटबन्ध


  • आफ्नै खबर
  • २०८२ चैत्र १९, बिहिबार ३ घण्टा अघि
  • ७४ पाठक संख्या
  • कञ्चनपुर/  नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा जैविक तटबन्ध निर्माण गरिएको छ । पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकास्थित दोदा नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गरिएको पुनर्वास नगरपालिका– ७ का अध्यक्ष मुलचन्द रानाले नदी जानकारी दिनुभयो ।

    हरेक प्रत्येक वर्ष नदीको बाढीबाट प्रभावित हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो ।

    वडाध्यक्ष रानाले भन्नुभयो, ‘हरेक वर्ष यहाँ करिब तीन सय परिवार बाढीबाट प्रभावित हुँदै आएका छन् । खेतीयोग्य जग्गा कटान हुँदै आएको छ । त्यसलाई रोक्न जैविक तटबन्ध निर्माण गरिएको हो ।’

    लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मला रानाले यहाँको पुनर्वास र लालझाडी गाउँपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको बताउनुभयो । उहाँले बाढी प्रभावित वडा नं. १ र ४ मा जैविक तटबन्ध निमार्णको काम भइरहेको जानकारी दिनुभयो ।

    नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, स्थानीय पालिका र जनश्रमदानमा नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको हो ।

    सङ्घद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजनाअन्तर्गत कञ्चनपुर र कैलाली जिल्लाका नदी तटीय क्षेत्रमा कटान तथा डुबान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका संयोजक देवराज बडुले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकामा सात सय मिटर, लालझाडी गाउँपालिकामा ६ सय मिटर र कैलालीको भजनी नगरपालिकामा सात सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । पुनर्वासमा २९ लाख १३ हजार रुपैयाँ र लालझाडीमा ४४ लाख ७९ हजार रुपैयाँको लागतमा तटबन्ध निर्माण गरिएको बडूले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘परियोजना, पालिका र जनश्रमदानमा तटबन्ध निर्माण गर्ने थालिएको हो । स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानका कारण यो तटबन्ध परम्परागत संरचनाभन्दा दिगो र वातावरणमैत्री छ ।’

    परियोजना संयोजक बडूले जैविक तटबन्धले नदीको बहावलाई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने भएकाले यसले दीर्घकालीन रूपमा भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमासमेत महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु