आज: २०८२ चैत्र २०, शुक्रबार | Fri, 03, Apr, 2026

विदेशिएका नेपालीले आठ महिनामा पठाए साढे १४ खर्ब


  • आफ्नै खबर
  • २०८२ चैत्र २०, शुक्रबार ३ घण्टा अघि
  • ६६ पाठक संख्या
  • काठमाडौँ/  चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेश रहेका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैङ्कको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । गत फागुनमा विप्रेषण आप्रवाह एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड रुपैयाँबराबर थियो ।

    उक्त अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

    केन्द्रीय बैङ्कका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार पाँच सय ३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार नौ सय ८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ६८ र दुई लाख १७ हजार चार सय तीन रहेको थियो ।

    त्यस्तै, समीक्षा अवधिमा चालु खाता पाँच खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९७ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा तीन अर्ब ८८ करोडले बचतमा रहेको छ ।

    यस्तै, फागुन मसान्तसम्म १० अर्ब ८४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आठ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

    उक्त अवधिमा शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु