आज: २०८२ चैत्र २०, शुक्रबार | Fri, 03, Apr, 2026

हुलाकका लागि सार्वजनिक बिदाको दिन पनि बैङ्क र भन्सार खुल्ने


  • आफ्नै खबर
  • २०८२ चैत्र २०, शुक्रबार ४ घण्टा अघि
  • ७० पाठक संख्या
  • काठमाडौँ/  सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ ।

    गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैङ्क नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो ।

    अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो ।

    ‘मालसामान हुलाक गर्न वा अन्तर्राष्ट्रिय कुरियर सेवाका लागि गोश्वारा हुलाक कार्यालयले सार्वजनिक बिदाको दिनमा सेवा दिने गरेको छ । तर त्यहाँ रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको शाखा सार्वजनिक बिदामा नखुल्दा जाँचपासमा समस्या थियो’, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले भन्नुभयो, ‘यो समस्या समाधानका लागि हामीले भन्सार विभागसँग मौखिक र पत्राचारबाट समेत जानकारी गराइसकेका छौँ ।’

    भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन लागिएको बताउनुभयो ।

    त्यस्तै, राजस्व भुक्तानीका लागि त्यहाँस्थित बैङ्क शाखाले पनि आफ्नो सेवाहरू सुचारु राख्ने तयारी थालिएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको शाखा सार्वजनिक बिदामा पनि खुला राख्न पहल भइरहेको हो ।

    गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गत फागुन महिनामा मात्र १९ हजार दुई सयभन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी, बुकपोस्टलगायत वस्तु विदेशबाट आएका थिए ।

    त्यस्तै, निर्यात भएका यस्ता वस्तुको सङ्ख्या ११ हजार सात सय हाराहारी छ । जसबाट २९ लाख चार हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सार्वजनिक बिदाको दिन कार्यालय सञ्चालन गर्दा नागरिकले सहज सेवा पाउनेमात्रै नभई कार्यालयको व्यवसाय र नतिजा प्राप्ति दुवैमा सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु