आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

सबै प्रकारका खेती एउटै फार्ममा गर्ने तरिका


  • आफ्नै खबर
  • २०८२ चैत्र २३, सोमबार १ महिना अघि
  • १३६ पाठक संख्या
  • कास्की/  कृषिप्रतिको अनिच्छासँगै रोजगारीको खोजीमा बढ्दो युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिका–३१ तालबेँसी शिवराज सुवेदीको कृषि यात्रा भने अरुका लागि प्रेरणाको स्रोत बनेको छ ।

    उमेरले ६४ वर्ष पुग्नुभएका सुवेदीले २०४३ सालदेखि निरन्तर रुपमा गर्नुभएको व्यवसायिक कृषिसँगै उहाँले अहिले भने ‘रिभोलुसन मल्टिपर्पोज अर्गानिक एग्रिकल्चर फार्म हाउस’ सञ्चालन गरिरहनुभएको छ ।

    पशुपालनदेखि तरकारी तथा फलफूलखेतीका विविधता उहाँको फर्ममा देख्न सकिन्छ । आफूमा व्यावसायिक कृषिप्रतिको आकर्षण भने गाउँमा केयर नेपाल संस्था भित्रिएपछि भएको सुवेदीले अनुभव सुनाउनुभयो ।

    ‘मैले २०४४ सालतिर सुरुमा केयर नेपाल संस्थाकै सहयोगमा भेटनरी तथा कृषि तालिम गरेको थिएँ’, उहाँले भन्नुभयो, ‘त्यही सिकाइका जगमा व्यावसायिक पशुपालन तथा तरकारीखेती गर्न थालेको हुँ ।’

    यस आसपासको क्षेत्रमा नै पहिलोपटक २०४३ सालमा काउलीखेती गरेको अनुभव सुनाउँदै सुवेदीले उक्त समयमा काठमाडौँ स्थानीय जातको काउली लगाइएको जानकारी दिनुुभयो

    त्यस समयमा बारीमा फलाएको काउली दुई घण्टासम्म डोकोमा बोकेर चिसापानीसम्म पुर्याएको सुवेदीले अनुभव सुनाउनुभयो । ‘त्यस समयमा काउली पाँच रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गर्दथ्यो’, उहाँले भन्नुभयो, ‘काउलीको बीउ पाउन भने मुस्किल थियो, काठमाडौँबाट नै मगाउनुपर्थ्यो ।’

    आफूले त्यस समयमा काठमाडौँसम्म चल्ने बसमा सम्पर्क गरी ५० रुपैयाँको बीउ ल्याउन ५० रुपैयाँ नै भाडासमेत दिएर बीउ मगाएको सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार रोप्नका लागि तयार गरिने काउलीको बिरुवा त्यस समयमा १० पैसामा बिक्री हुने गर्दथ्यो । व्यवसायिक कृषिमा युवाहरूलाई आकर्षित गर्न सुवेदीले तालिम लिनसक्ने हल बनाउनुभएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कृषकस्तरमा नवीनतम कृषि प्रविधिको प्रयोग अनुसन्धान तथा सिकाई केन्द्र स्थापना गर्न सहयोग कार्यक्रमअन्तर्गत अनुदान सहयोगमा तयार गरिएको हलमा एक साथ ४० जनासम्मले बसेर तालिम लिन सक्छन् ।

    परियोजनाको अनुदान कार्यक्रमअन्तर्गत तालिम भवन, गाईभैँसी गोठ, बाख्राको खोर, ताराबारलगायतका संरचनाका लागि कूल ११ लाख ३१ हजार रुपैयाँ लागतमध्ये कृषकको सहभागिता तीन लाख ३० हजार रुपैयाँ थियो ।

    सुवेदीले हाल पशुपालन, माछापालनसहित तरकारीखेती पनि गर्दै आउनुभएको छ । विगत नौ वर्षदेखि माछापालन गर्दै आउनुभएका उहाँले वार्षिक दुई लाख रुपैयाँबराबरको माछा बिक्री गरिरहनुभएको छ । खसी, दूध, माछा, तरकारी आदि बिक्रीबाट खर्च कटाएर पाँच/छ लाख रुपैयाँसम्म आम्दानी भइरहेको उहाँले अनुभव सुनाउनुभयो

    सुवेदीको फार्ममा तरबुजा, घिरौला, काँक्रा आदिको व्यवसायिक खेती भइरहेको छ । स्थानीयका लागि कुटानीपिसानीका साथै कफी प्रशोधन आदिसमेत सुविधा उपलब्ध गराउँदे आइएको छ । कृषिका बहुप्रयोग रुचाउनुहुने सुवेदीको प्रयास अरुका लागि पनि प्रेरणा बन्न सक्ने पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरिया बताउनुहुन्छ ।

    एकीकृत कृषिका विविध पक्षलाई एकै ठाउँमा अवलोकन गर्न पाइने सुवेदीको क्रियाशीलताबाट अरुले पनि धेरै सिक्न सक्ने उहाँको भनाइ छ । कृषिमा धेरै सम्भावना रहेको बताउँदै उहाँले मेहनतसँगै निरन्तरको लगाव हुनसकेमा कृषिबाट राम्रै आयआर्जन गर्न सकिने प्रमुख कडरियाले बताउनुभयो

    –रासस
     
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु