आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

अघि बढ्यो ‘होमस्टे सर्किट’ को अवधारणा, १४ वटा ‘होमस्टे’ र २० भन्दा बढी गाउँ समेटिने


  • आफ्नै खबर
  • २०८२ चैत्र २८, शनिबार १ महिना अघि
  • १५५ पाठक संख्या
  • तनहुँ/  ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट’ निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

    व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ‘मोडेल’ का रूपमा अगाडि सारिएको हो । सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

    कुनै समय व्यापारिक केन्द्रका रूपमा रहेको बन्दीपुर सदरमुकाम दमौली सरेपछि ओझेलमा परेको थियो । हिजोआज सोही सहर पुनः खुला र जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रूपमा स्थापित हुँदै गएको छ । ‘पहाडकी रानी’ उपनामले समेत यो सहरले छुट्टै पहिचान बनाइसकेको छ । अब होमस्टेमार्फत यहाँको पर्यटन प्रवर्द्धनका लागि थप काम गर्न खोजिएको अध्यक्ष थापाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलतापछि गाउँपालिकाले सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । सोहीबमोजिम विविध प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्दै नयाँ गन्तव्यको विकास गर्ने क्रममा ‘सर्किट’ को अवधारणाअनुसार महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ ।’

    करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस ‘सर्किट’ मा १४ वटा ‘होमस्टे’ र २० भन्दा बढी गाउँ समेटिनेछन् । गुरुङ, मगर, नेवारसँगै क्षेत्री, ब्राह्मण र दलित समुदायबाट सञ्चालित होमस्टेहरूले फरक–फरक सांस्कृतिक अनुभव प्रदान गर्नेछन् ।

    बन्दीपुर गाउँपालिकाका अधिकांश वडाका साथै व्यास नगरपालिकाको वडा नं. १४ यसमा समेटिएको छ । थापाका अनुसार यस सर्किटले होमस्टे सशक्तीकरणसँगै पर्यटनमार्फत ग्रामीण समुदायको आम्दानी वृद्धिमा टेवा पुग्नेछ ।

    यसको विकासका लागि तीन चरणमा कार्यक्रम अघि बढाइएको जनाइएको छ । पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले संयुक्त रूपमा क्षेत्रको अध्ययन, अवलोकन तथा प्रत्येक ‘होमस्टे’ गाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

    यस्तै, नेपाल पर्यटन बोर्ड पोखरासँगको सहकार्यमा आगामी वैशाख १८ र १९ गते आयोजना हुने गण्डकी प्रदेशस्तरीय ‘गाउँ पर्यटन मार्ट २०८३’ मार्फत ‘सर्किट’ को राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिनेछ ।

    ग्रामीण पर्यटनलाई थप सहज बनाउन गाउँपालिकाले सफारी जिप सेवासमेत सञ्चालनमा ल्याइसकेको छ । यसले गाउँ–गाउँमा पर्यटकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको गाउँपालिका पर्यटन शाखा प्रमुख सुरज भट्टराईले बताउनुभयो ।

    यो ‘सर्किट’ नेपालकै पहिलो नमुना परियोजनाका रूपमा विकास गर्न खोजिएको र यसले विश्वसामु नेपाली ग्रामीण पर्यटनको नयाँ पहिचान स्थापित गर्ने लक्ष्य लिएको पर्यटनविज्ञ हरिसिंह गुरुङले बताउनुभयो ।

    स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई जोगाउँदै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको महसुस गरी योजना अगाडि बढाउन लागिएको र यसले दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    यसमा बन्दीपुर–२ को मोहोरिया, रामकोट, व्यास–१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर–६ धरमपानी, व्यास–१२ कमलाबारी, बन्दीपुर–५ कोरिखा, बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुरको धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेलगायत समेटिएका छन् ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु