आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा


  • आफ्नै खबर
  • २०८३ बैशाख २१, सोमबार १ महिना अघि
  • १०२ पाठक संख्या
  • मुस्ताङ/  नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङसेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् ।

    समूद्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेकसेतारा लेकमा जङ्गली गधा (क्याङ) चर्दै गरिहेको अवस्थामा भेटिएका हुन् ।

    जङ्गली गधा (क्याङ) सम्बन्धी अध्ययन गरिरहेका एक्याप लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले लोमान्थाङस्थित धालुङसेतारा उच्चलेकमा जङ्गली गधा क्याङ चर्दै गरिरहेको अवस्थामा भेटिएको बताउनुभयो ।

    कोरलास्थित नेपाल—चीन सीमा क्षेत्रबाट फर्किंदै गरेको अवस्थामा धालुङसेतारा उच्चलेकमा जङ्गली गधाहरूको बथान चर्दै गरेको अवस्थामा देखिएको प्रमुख पौडेलले बताउनुभयो । आफूले लोमान्थाङको धालुङ उच्चलेकमा एक सय दुई वटा र सोही स्थानको अर्को सेतारा उच्चलेकमा १४ वटा गरी एक सय १६ वटा जति जङ्गली गधा (क्याङ) देखेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार जङ्गली गधाको बासस्थान ट्रान्स हिमालयन (तिब्बत/मुस्ताङ) क्षेत्रमा संयुक्त बासस्थान रहेको बताइन्छ ।

    दुर्लभ स्तनधारी जङ्गली गधा (क्याङ) को मौसम अनुसार बासस्थान तय हुने प्रमुख पौडेलको भनाइ छ । हिउँदयामको आठ महिना तिब्बती पठारमा  बर्खायाममा गर्मी सुरु हुँदा चार महिना उपल्लो मुस्ताङ क्षेत्रको उच्चलेकमा बासस्थान बनाउने गरेको प्रमुख पौडेलले बताउनुभयो ।

    तिब्बतको पठारमा बढी समय बिताउने जङ्गली गधाहरू अप्रिल, मे र जुन महिनामा बासस्थान परिवर्तन गरी उपल्लो मुस्ताङका उच्चलेकमा प्रवेश गर्छन् ।  तिब्बत र मुस्ताङको सीमा क्षेत्रमा बस्ने जंगली गधाहरू बढी समय तिब्बती पठारमा बिताउँछन् ।

    चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सीमाक्षेत्रको चरन क्षेत्रमा मौसमअनुसार जङ्गली गधाको सङ्ख्या देखिने गरेको छ ।

    यसअघि ‘क्यामेरा ट्यापिङ’ गरी प्राविधिक रुपमा जङ्गली गधाको सङ्ख्या यकिन गर्ने गरिएको भए पनि यति ठूलो सङ्ख्यामा पहिलो पटक देखिएको हो । यसअघि सन् २००४ मा गरिएको जङ्गली गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा देखापरेका थिए ।

    जलवायु परिवर्तनका कारण यस प्रकारका जङ्गली गधाहरू मौसमअनुसार तलमाथि गर्ने गर्छन । यो याममा उपल्लो मुस्ताङका सीमावर्ती उच्चलेकमा हरियो घाँस पलाइसकेकाले जङ्गली गधाहरू आहारको खोजीमा नेपाल प्रवेश गरेका हुन् ।

    जङ्गली गधाको शरीर खैरो/हरियो रातो र पेटतिरको भाग सेता रङ्ग हुन्छ । यसका खुट्टाहरू लामो लामो र सिधा उभिने शैलीको छिटो कुद्न सक्ने क्षमता राख्दछ । समूहमा बस्ने, छिटो छिटो कुद्ने र सतर्क रहने जङ्गली गधाको मुख्य विशेषता हो । जङ्गली गधाका लागि जलवायु सङ्कट र मानव गतिविधि मुख्य चुनौतीका रुपमा लिने गरिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु