आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

दोस्रो दक्षिण एसिया व्यापार मेलामा आठै देश सहभागि


  • आफ्नै खबर
  • २०८३ बैशाख २४, बिहिबार ३ हफ्ता अघि
  • ८५ पाठक संख्या
  • काठमाडौँ/  दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०२६’ सुरु भएको छ ।

    प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको मेलामा नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ । वैशाख २८ गतेसम्म चल्ने सो मेलाको यहाँस्थित विभिन्न देशका राजदूत र उद्योगी व्यवसायीहरूले संयुक्तरुपमा उद्घाटन गरे ।

    इन्ट्रोडक्सन ट्रेड शोज नेपालको व्यवस्थापनमा सुरु भएको उक्त मेला बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्युरोको सहकार्यमा सञ्चालन भएको हो । मेलालाई भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ ।

    विभिन्न देशको ‘पेभिलियन’ राखिएको उक्त मेलामा सार्क क्षेत्रका पाँच हजारभन्दा बढी उद्यमी व्यवसायी तथा एक लाख बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ । प्रदर्शनीले निकासीयोग्य वस्तुको प्रवर्द्धन र व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने विश्वास राखिएको छ ।

    प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामग्री, रैथाने खाद्यवस्तु, तयारी पोशाक र सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण, विद्युतीय सवारी साधनलगायतका सामग्री राखिएको मेला संयोजक सुमन महर्जनले जानकारी दिनुभयो ।

    प्रदर्शनीले उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तारका साथै विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई मजबुत बनाउने सघाउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु