आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

नसर्ने रोग विरुद्ध एकता, सङ्गठन र अनुशासनको उदाहरण बनेको बडघर


  • आफ्नै खबर
  • २०८३ जेष्ठ ७, बिहिबार १ हफ्ता अघि
  • ८६ पाठक संख्या
  • कैलाली/  मध्याह्‍नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहारभने पटक्कै तातेको देखिँदैन ।

    सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिनुभएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बडघर(भलमन्सा)को नेतृत्व गरिरहनुभएको रहेछ । उहाँका अनुसार बडघर अन्तर्गत ६ सय २६ घरधुरी छ ।

    आश्रयस्थलमा राजनीतिक कार्यक्रम जारी रहँदा उहाँलाई सुन्न जान मन लागेनछ । किन जानुभएन ? उहाँको सानो स्वर निस्कियो, ‘के पाउनु छ र भाषण सुन्न गएर ? ताली बजाएर । विपद् पर्दा भाषण गर्ने जोगाउन आउँदैनन् । आफैँले आफ्नाका सुरक्षा गर्नुपर्दछ ।’

    उहाँ सोही समयमा नेपाल रेडक्रस सोसाइटी र भजनी नगरपालिकाको संयुक्त  सहकार्यमा सञ्चालन भइरहेको विपद्का समयमा नसर्ने रोगसम्बन्धी अत्यावश्यक हेरचाह ‘प्याकेज’को परीक्षण र कार्यन्वयन तयारीको लागि सञ्चालन भइरहेको कृत्रिम घटना अभ्यासमा जुटिरहनुभएको थियो ।

    विपद्का अवस्थामा तत्काल अस्थायी आवास (सेल्टर) कसरी निर्माण गर्ने र समुदाय सहित नसर्ने रोग लागेका व्यक्तिहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर पूर्वाभ्यास गरिहनुभएको थियो ।

    बाँसका टेका लगाएर नेपाल रेडक्रस चिह्न अङ्कित तारपोलियन मिलाउँदै उहाँले भन्नुभयो, ‘बाढी र डुबान नआउने समयमा यस्ता अभ्यास गर्दा भोलिका दिनमा सजिलो हुने रहेछ ।’ उहाँका अनुसार मुख्य गरेर यहाँका कन्द्रा, मोहना, काँढा, पथरैयासहित कर्णालीले डुबान र कटानको कहर नल्याएको वर्ष हुँदैन ।

    बडघरका मानबहादुरकी श्रीमती ब्रेफानी चौधरी पनि समुदायमा विपद्को पूर्वसूचना ‘माइकिङ’ गर्न व्यस्त हुँदा भेटिनुभयो । ‘विपद्का सूचना र जानकारी कसरी समुदायमा पुर्याउने’ भनेर उहाँलाई भ्याइ नभ्याइ थियो ।

    सूचना सम्प्रेषणका विधि र तरिका बारेमा उहाँले नेपाल रेडक्रस सोसाइटीद्वारा प्रदान गरेको तालिममा सिक्नुभएको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान सूचना बडघरसम्म आइपुग्नासाथ उहाँ ‘माइक’ बाकेर घरबाट निस्कनुभएको थियो ।

    उहाँले अफ्नो मातृभाषामा स्थानीयवासीलाई नदीमा पानीको उच्च बहाव बढ्दैछ, डुबान हुने सम्भावना छ, सबै जना उच्च सतर्क रहनुहोला र अति सङ्कटासन्न व्यक्तिहरूले विशेष सतर्कता अप्नाउनु होला भन्दै सूचना प्रसार गराउनुभएको थियो ।

    उहाँको पूर्वसूचना सन्देशमा नयाँ जानकारी थपिएको थियो । ब्रेफानीले दोहोर्‍याएर सम्प्रेषण गर्दै हुनुहुन्थ्यो, ‘बाढीका समयमा नसर्ने रोग लागेका व्यक्ति तथा हेरचाह गर्ने व्यक्तिहरूले ध्यान दिनुहोला । यस्ता बिरामीले नियमित सेवन गर्ने औषधिको सुनिश्चितता गर्नुहोला । जोहो गर्नुहोला ।’

    ‘माइकिङ’ गरेर नसुन्ने स्थानमा नगरपालिकाले बहुउपयोगी ‘साइरन’ मार्फत समेत सूचना सम्प्रेषण गर्ने गरेको छ ।

    ‘माइकिङ’ सुनेर महिला स्वयंसेविका किरण जैसी झटपट झोला बोकेर घरबाट निस्किनुभयो । झोलामा नसर्ने रोग (रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास) सहित झाडापखाला, ज्वरोका औषधिसहित केही प्राथमिक उपचार सामग्री पनि रहेका थिए ।

    उहाँले भन्नुभयो, ‘विपदका अवस्थामा नसर्ने रोगको व्यक्तिको सेवा निरन्तरताका लागि चुनौती छ र यो कृत्रिम घटना अभ्यासले समुदाय तथा नसर्ने रोग लागेका व्यक्तिहरूको विपद् पूर्वतयारी तथा विपद्को पूर्वानुमानपश्चात् गरिने पूर्वकार्यको ज्ञान तथा सीपसमेत वृद्धि गर्नेछ । यसमा समुदायलाई अभ्यस्त बनाउन जरुरी छ ।’

    यहाँ बडघरले समुदायलाई एकताबद्ध, सङ्गठित, अनुशासित र विकासका काममा परिचालन गर्ने काम गरिरहेको छ । बडघर थारू समुदायको मौलिक प्रथा पनि हो । बडघरले थारूको मौलिक सञ्चार प्रणालीअनुसार सूचना प्रवाह गर्ने गर्छन् ।

    बडघरको जिम्मेवारीमा रहेका व्यक्तिले स्वयं प्रत्येक गाउँको घरधुरीमा पुगेर सूचना दिने काम गर्ने परम्परा रही आएको छ । सूचना प्रवाह गर्दा गाउँका सबै घरमा पुगेर लिखित वा मौखिक सूचना दिने काम गर्ने गर्छन् । बडघर मानबहादुरले भन्नुभयो, ‘बडघर आफैँ खट्नु बढी विश्वसनीय हुने भएकाले समय भएसम्म म आफैँ खट्ने गर्दछु ।’

    बाढी र डुबानका बिच नसर्ने रोगको जोखिम

    भजनी नगरपालिकाका प्रमुख केबल चौधरीका अनुसार नगरपालिकाका नौ वटै वडा बाढी र डुबानका उच्च जोखिममा पर्दछ । विगत तीन वर्षदेखि यहाँ बाढी र डुबानका कारण मानवीय क्षति नभए पनि डुबान, कटान सहित कृषिबाली क्षति हुनेक्रम रोकिएको छैन ।

    उहाँले भन्नुभयो, ‘पछिल्ला वर्ष नसर्ने रोगको वृद्धिले नगरवासीहरू बाढीको समयमा अझ प्रभावित बन्न थालेका छन् । यहाँको नसर्ने रोग को ‘ग्राफ’ निरन्तर उकालोमा छ ।’ उहाँका अनुसार पालिकाभित्र बाढी र डुबानको उच्च जोखिमबाट समुदायलाई जोगाउन एकसयभन्दा बढी उच्च घर बनाउन सहयोग तथा विस्थापित राख्न १८ उच्च घर बनाइएका छन् ।  

    गत माघ र फागुनमा नगरपालिकाले नगर क्षेत्रमा नसर्ने रोगसम्बन्धी ‘स्क्रिनिङ’ अभियान नै सञ्चालन गरेको थियो ।

    नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशबहादुर डगौरा थारूका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र भजनी, आधारभूत स्वास्थ्य केन्द्र पल्तुपुर, मन्त्रिफाँटा, धरौना, गोडचौरासहित लालाबोझी स्वास्थ्यचौकी, थापापुर स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र चर्राखैलाड स्वास्थ्यचौकीमा स्क्रिनिङ गरिएको थियो ।

    ३० वर्षमाथिका एकहजार एकसय ८० को परीक्षण गर्दा रक्तचाप दुई सय ५५, मधुमेह ९५, मिर्गौैला १६ र मोटोपना दुई सय ४४ जनामा भेटिएको थियो ।

    उहाँले भन्नुभयो, ‘समुदायमा नसर्ने रोगको व्यक्तिको खोजपड्ताल गर्नेक्रम जारी छ । पहिचानका लागि यस्ता व्यक्तिलाई ‘कार्ड’ वितरण भइराखेको छ । यसबाट विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरताको लागी सहयोग पुग्ने छ ।’

    भजनी नगरपालिकामा नोभो निर्डिस्क फाउन्डेसनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस, क्यानडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयको सहकार्यमा ‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजना अप्रिल २०२४ देखि मे २०२६ सम्म सञ्चालनमा रहेको छ ।

    सोही परियोजनाले भजनीमा विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरताको लगि विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावश्यक हेरचाह प्याकेजका ‘पेन डि प्याकेज’ मार्फत निरन्तर पैरवी, सहजिकरणका गतिविधिमा सहयोग गरिराखेको नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा विभागका स्वास्थ्य कार्यक्रम संयोजक अनिल महर्जनले जानकारी दिनुभयो ।

    ‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजनाका संयोजक प्रमोद अधिकारीले भन्नुभयो, ‘विपद्का अवस्थामा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरतालाई सुनिश्चित गर्दै स्वास्थ्य क्षेत्र र विपद् जोखिम व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्नु ‘रिजिलियन्स एनसिडी’ परियोजनाको मुख्य उद्देश्य रहेको छ ।’

    विपद्मा नसर्ने रोगका बिरामीलाई प्राथमिकता दिन सकेमा आकस्मिक जटिलता र मृत्युको जोखिम कम हुन्छ साथै बिरामीको मानसिक तनावसमेत कम हुने उहाँको भनाइ छ ।

    उहाँले थप्नुभयो, ‘मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता रोगबाट गम्भीर अवस्था सिर्जना हुनबाट रोकेर मानिसलाई बचाउन सकिन्छ । पेन-डी प्याकेजलाई समावेश गरी नीतिगत रूपमा काम गरेमा विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरूले थप जटिलता भोग्नु पर्ने थिएन ।’

    भजनी विपद् र नसर्ने रोगको दोहोरो मारमा रहेको छ । नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयुक्त सहकार्यमा निर्माण भएको विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावश्यक हेरचाह प्याकेजका ‘पेन डी  प्याकेज’ को अन्तिम मस्यौदा तयार भइसकेको छ ।

    भजनी नगरपालिका आगामी वर्षदेखि उक्त प्याकेजलाई पालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर कार्यन्वयन गर्ने तयारीमा रहेको छ ।

    नगरपालिका प्रमुख चौधरीले भन्नुभयो, ‘विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरताको लागि यो प्याकेजले सहजीकरण गर्ने भएकाले भविष्यमा भजनी नगरपालिकामा नसर्ने रोगबाट प्रभावित रहेका व्यक्तिहरू विपद्का समयमा उपचारबाट वञ्चित हुनु पर्दैन ।’

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा. सविन पराजुली विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरताको लागि ‘पेन डी प्याकेज’ सहयोग पुर्याउने जानकारी दिँदै भजनी र लालझाडीको सिकाई अन्य पालिकामा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।

    –रासस 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु