आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

गाउँपालिका भवन निर्माणका लागि डेढ बिघा जग्गा दान


  • आफ्नै खबर
  • २०८३ जेष्ठ १०, आईतबार १ हफ्ता अघि
  • ७५ पाठक संख्या
  • कैलाली/  जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ ।

    गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १० कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिनुभएको छ ।

    १२ करोड आठ लाख रुपैयाँको लागतमा अढाई तलाको प्रशासनिक भवनको काम त्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले गरिरहेको इन्जिनियर शाहीको भनाइ छ । उहाँका अनुसार २०८२ असार २२ गते भवन निर्माणका लागि भएको सम्झौताअनुसार २०८४ असार २० गते सम्पन्न गरिसक्नुपर्नेछ ।

    ‘जग्गा नभएका कारण भवन निर्माणमा ढिलाइ भएको हो’, इन्जिनियर शाही भन्नुहुन्छ, ‘अर्को वर्षबाट गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन्छ ।’

    निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार शाहले हालसम्म २५ प्रतिशतमाथि काम भएको बताउनुभएको छ । उहाँले भवन निर्माण स्थलमा डुबानको समस्या हुने हुँदा बर्सातको समयमा काम गर्न कठिन हुने गरेको बताउनुभयो ।

    ‘जगको काम सम्पन्न भएको छ । यो असारसम्म पहिलो तलाको काम सम्पन्न गर्ने लक्ष्य छ’, उहाँ भन्नुहुन्छ, ‘काम गर्दै जाँदा समस्या नआए समयमै भवन सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्छौं ।’

    गाउँपालिकाले वडा नं. १ को प्रशासनिक भवनबाट हाल सेवा प्रवाह गर्दै आएको छ । केही शाखा अहिले पनि भाडाको घरमा सञ्चालनमा छन् । वडा नं. १ को सेवा प्रवाह साबिकको दुर्गौली गाविसको भवनबाट भइरहेको छ ।

    गाउँपालिकामा सार्वजनिक जग्गाको समस्याका कारण वडा नं. ५ र वडा नं. ६ को प्रशासनिक भवन पनि निर्माण हुन सकेको छैन । दुवै वडा कार्यालयले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु