आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याउने तयारी


  • आफ्नै खबर
  • २०८३ जेष्ठ १०, आईतबार १ हफ्ता अघि
  • ७२ पाठक संख्या
  • कास्की/  पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ ।

    अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो । यसैबीच, अन्ततः खोलाघरभित्रका अतिक्रमित संरचना आजदेखि अभियानका रूपमा हटाउन सुरु भएको छ । महानगरले लामो प्रयासपछि अन्ततः फिर्केका अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो ।

    महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो । वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो ।

    खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिई सकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

    अतिक्रमित संरचना हटाउने कार्यको औपचारिक सुरुआत महानगर प्रमुख आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट गर्नुभएको छ । महानगरले अतिक्रमित संरचना हटाउनका लागि सुरु गरेको अभियानको सबै तयारीका काम यस अघिनै सकिएको जनाएको थियो । 

    तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिएको छ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा नं. ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं. ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटरस्थित लायन्स भवनदेखि  फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलाइएको छ ।

    अतिक्रमित संरचना हटाउने अभियान बिहान १०ः०० देखि सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको थियो ।

    महानगर प्रमुख आचार्यले भन्नुभयो, ‘फिर्के खोला लगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध हिसाबले काम सुरु गरेको छ । आजदेखि खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौँ ।’

    महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाहरूले भने आफ्ना संरचना खाली गरिसकेका थिए । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले पनि भवन खाली गरेका छन् । 

    महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलामाथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ ।

    यसैगरी, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण गरिएका छन् । साबिक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ ।

    यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ ।

    फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ वटा गरी पाँच सय ८८ सीमास्तम्भहरू गाडिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु