
काठमाडौँ/ वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार वैशाख महिनामा देशभर दुई हजार दुई सय ९४ दुर्घटना भएकामा एक हजार दुई सय ५३ दुर्घटना तीव्रगतिका कारण भएको थियो ।
उक्त अवधिमा एक सय ३७ दुर्घटना चालकको असक्षमता, एक सय ३३ दुर्घटना हतारमा बाटो काट्नु, एक सय १२ दुर्घटना मादक पदार्थ सेवन तथा ४६ वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए ।
वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध एक लाख ३७ हजार ९४ वटा कारबाही भएको छ भने त्यसबापत ११ करोड ८२ लाख ७४ हजार रुपैयाँ राजस्व असुली भएको छ । उक्त अवधिमा भएका ती दुर्घटनामा तीन हजार तीन सय चौतिस वटा सवारी साधन संलग्न भएका थिए । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए ।
साँझ ६ देखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ । उक्त समयमा आठ सय ५९ दुर्घटना भएका थिए । यस्तै मध्याह्न १२ देखि साँझ ६ बजेसम्म आठ सय ५०, बिहान ६ देखि मध्याह्न १२ बजेसम्म पाँच सय ६ तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म ७८ वटा दुर्घटना भएको प्रहरी तथ्याङ्कले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस