आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

 सामूहिक अम्रिसो खेतीबाट डेढ करोड आम्दानी


  • आफ्नै खबर
  • २०८३ जेष्ठ १६, शनिबार ४ दिन अघि
  • ६१ पाठक संख्या
  • नवलपरासी पूर्व/  नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पहाडी भूबनोटमा अन्य खेती राम्रोसँग नहुने भएपछि अम्रिसो खेतीतर्फ लागेका किसानले यसबाट राम्रो आम्दानी लिन थालेका छन् ।

    जिल्लाका हुप्सेकोट, बौदीकाली, बुलिङटार, गैँडाकोट, मध्यबिन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसो खेती गरिँदै आएको छ । डिभिजन वन कार्यालय नवलपुरमार्फत कबुलियती वनमा अम्रिसो खेतीलाई प्रोत्साहन गरिएपछि पहाडका पाखाहरू हराभरा बन्नुका साथै स्थानीय बासिन्दाको आयआर्जनको भरपर्दो आधार बन्न पुगेको छ ।

    जिल्लामा एक सय २१ वटा समूहले कबुलियती वनमार्फत अम्रिसो खेती गरिरहेको कबुलियती वन विकास कार्यक्रम नवलपुरका जिल्ला सुपरीवेक्षक तुलबहादुर रानाले बताउनुभयो ।

    डिभिजन वन कार्यालयले अम्रिसो खेतीका लागि निःशुल्क बिरुवा वितरण गर्दै आएको छ । यसबाट प्रेरित भएर स्थानीयहरू कबुलियती वन समूहमा आबद्ध भई व्यावसायिक अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् । पहाडी क्षेत्रमा आयआर्जनका सीमित विकल्पबीच अम्रिसो खेती अहिले ग्रामीण जीवनको महत्वपूर्ण आर्थिक आधार बनेको छ ।

    नवलपुरमा अम्रिसो खेती गरेका किसानले यस याममा तीन सय एक मेट्रिक टन अम्रिसो उत्पादन गरी बिक्री गरेको जिल्ला सुपरीवेक्षक रानाले बताउनुभयो । जसबाट किसानले एक करोड ६५ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।

    अम्रिसो खेती सुरु हुनुअघि पहाडका डाँडाहरू झाडी र बाँझो जमिनका रूपमा मात्र रहेका थिए । पछि स्थानीयवासीले सरसफाइ अभियानसँगै अम्रिसोका बिरुवा रोप्न थाले । डिभिजन वन कार्यालयले बिरुवा रोप्नका लागि सहयोग गर्दै आयो । अहिले त्यही अम्रिसो धेरै परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ ।

    स्थानीयहरूले वर्षभरिको घरखर्च अम्रिसो बिक्रीबाट जुटाउने गरेको दैतेगैरा कबुलियती वन समूह हुप्सेकोटका अध्यक्ष यमबहादुर बाह्रघरेले बताउनुभयो ।

    समूह बनाएर अम्रिसो खेती गर्ने गरिएको उहाँले बताउनुभयो । यसबाट राम्रो आम्दानी हुने गरेको उहाँको भनाइ छ । अध्यक्ष बाह्रघरेले भन्नुभयो, ‘पहिले पाखाहरू यसै बाँझै थिए । पछि अम्रिसो लगाउन सुरु गरियो । अहिले यहाँका लागि मुख्य आम्दानीको स्रोत नै बनेको छ ।’

    धेरै मेहनत पनि गर्नु नपर्ने र अम्रिसो तयार भएपछि बजारको समस्या नभएको उहाँले बताउनुभयो । कुचोको कारोबार गर्ने व्यापारीले खोजीखोजी अम्रिसो लैजाने गरेको उहाँको भनाइ छ ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु