आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

फुसको छानोबाट सुरक्षित आवाससम्मको यात्राले दिएको खुसि


  • २०८३ जेष्ठ १८, सोमबार २ दिन अघि
  • ६० पाठक संख्या
  • चितवन/  राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्ने र आगलागीको जोखिमले परिवार सधैँ त्रसित रहन्थ्यो ।

    बर्सातका समयमा घरभित्र पानी पसेपछि सुत्ने ठाउँ सुरक्षित हुँदैनथ्यो । परिवारका सदस्यलाई भिज्नबाट जोगाउन भाँडा, बाल्टिन र अन्य सामग्री राखेर रात बिताउनुपर्ने अवस्था थियो ।

    ‘मानिसलाई खानासँगै सुरक्षित घर पनि आवश्यक हुन्छ’, बाबुराम भन्नुहुन्छ, ‘तर, हाम्रो आर्थिक अवस्था कमजोर भएकाले जीवनभर पक्की घरमा बस्ने सपना पूरा होला भन्ने लागेको थिएन ।’

    बागमती सरकारले पक्की घर निर्माण गरिदिएपछि भने अहिले उहाँको परिवार ढुक्कसँग बस्न थालेको छ । ‘अब वर्षा र हावाहुरीको डर छैन’, उहाँ भन्नुहुन्छ, ‘बच्चाहरू पनि सुरक्षित छन् । यही नै हाम्रो सबैभन्दा ठूलो खुसी हो ।’

    मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ६५ वर्षीय गोपाल प्रजाको कथा पनि बाबुरामको भन्दा फरक छैन । वर्षौंदेखि झुप्रोमा बस्दै आएका गोपालले आफ्नो जीवनमा कहिल्यै पक्की घरको कल्पना गर्नुभएको थिएन । वर्षा लाग्दा छानो चुहिने र हिउँदमा चिसोले सताउने समस्याले परिवार सधैँ पीडित थियो ।

    ‘हामीलाई पक्की घर भनेको धनी मानिसको कुरा जस्तो लाग्थ्यो’, उहाँ भन्नुहुन्छ, ‘तर, अहिले आफ्नै घरमा बस्न पाउँदा जीवन नै बदलिएको महसुस भइरहेको छ ।’

    उहाँका अनुसार सुरक्षित घर पाएपछि परिवारमा आत्मविश्वास बढेको छ । पहिले छिमेकीको सहारामा बस्नुपर्ने अवस्था भए पनि अहिले आफ्नै घरमा सम्मानपूर्वक जीवन बिताउन पाएकामा उहाँ निकै खुसी हुनुहुन्छ ।

    बाबुराम र गोपाल मात्र होइन, वर्षौंदेखि फुसको छानोमुनि कठिन र जोखिमपूर्ण जीवन बिताइरहेको चितवन र मकवानपुरका सयौँ विपन्न परिवारको जीवनमा अहिले नयाँ उज्यालो छाएको छ ।

    हावाहुरी, वर्षा र आगलागीको त्रासबीच दिन बिताउन बाध्य परिवार अहिले आफ्नै पक्की घरमा सुरक्षित जीवनको अनुभूति गर्न थालेका छन् ।

    वर्षौंदेखि जीर्ण घर, चुहिने छाना र असुरक्षित बासस्थानमा जीवन बिताउन बाध्य परिवारहरू अहिले सुरक्षित र व्यवस्थित आवासमा बस्न थालेपछि उनीहरूको जीवनस्तरमा उल्लेखनीय परिवर्तन आएको छ ।

    प्रदेश सरकारद्वारा सञ्चालित ‘एकीकृत बस्ती तथा आवास कार्यक्रम’, ‘जनता आवास कार्यक्रम’ तथा ‘फुसको छानो हटाउने अभियान’ ले हजारौँ विपन्न नागरिकको जीवनमा परिवर्तन ल्याएको छ ।

    यी कार्यक्रमहरूले हजारौँ नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउँदै सामाजिक सुरक्षा, सम्मान र आत्मविश्वास बढाउन महत्वपूर्ण योगदान पुर्याएका छन् ।

    ‘जनता आवास कार्यक्रम’ अन्तर्गत निर्माण गरिएका पक्की घरहरूले विपन्न परिवारलाई स्थायी बसोबासको अनुभूति दिलाएको छ । यसले उनीहरूमा श्रम, शिक्षा र साना व्यवसायप्रति उत्साह बढाएको स्थानीय तहहरूले बताएका छन् ।

    यसैगरी, ‘एकीकृत बस्ती तथा आवास कार्यक्रम’ मार्फत व्यवस्थित बस्ती विकास हुँदा सडक, खानेपानी, विद्युत् र सरसफाइजस्ता आधारभूत सेवामा पहुँच विस्तार भएको छ ।

    वर्षौंदेखि गरिबी, अभाव र असुरक्षित बासस्थानको पीडा सहँदै आएका परिवार अहिले सुरक्षित घर पाएपछि भविष्यप्रति आशावादी बनेका छन् । विपन्न नागरिकको जीवनमा नयाँ आशा र सुरक्षित भविष्यको आधार निर्माण गरेको छ ।

    विशेषगरी दलित, सीमान्तकृत, विपन्न तथा प्राकृतिक विपद्को जोखिममा रहेका परिवारलाई लक्षित गर्दै सञ्चालन गरिएका यी कार्यक्रमले केवल घर निर्माण मात्र होइन, सामाजिक सम्मान र आत्मविश्वास पनि प्रदान गरेका छन् ।

    फुसको छानो भएका घरमा बर्खायाममा पानी चुहिने, चिसो र आगलागीको जोखिम हुने समस्या अब धेरै हदसम्म अन्त्य भएको छ । टिन तथा सुरक्षित छाना जडान गरिएपछि बालबालिकाको पढाइमा सहजता आएको छ भने वृद्धवृद्धा र महिलाको दैनिक जीवन पनि सुरक्षित बनेको छ ।

    आर्थिक वर्ष २०७९/८० देखि आव २०८१/८२ सम्ममा चितवन र मकवानपुरका ६ सय ५० परिवारले पक्की घर पाएका छन् । एकीकृत बस्ती तथा आवास कार्यक्रम र जनता आवास कार्यक्रममार्फत निर्माण गरिएका यी घरहरूले सयौँ विपन्न परिवारलाई सुरक्षित बासस्थान प्रदान गरेका छन् ।

    आव २०७९/८० बाट सुरु भएको एकीकृत बस्ती तथा आवास कार्यक्रमअन्तर्गत आव २०७९/८० मा एक सय ७४, आव २०८०/८१ मा दुई सय ७४, आव २०८१/८२ मा ५५ वटा घर निर्माण गरी हस्तान्तरण गरिसकेको सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाका प्रमुख इन्जिनियर भूपेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उक्त कार्यक्रमअन्तर्गत चालु आव २०८२/८३ मा थप ९४ परिवारका लागि घर निर्माण गर्ने योजना स्वीकृत भएको छ ।

    विशेषगरी चेपाङ, वनकरिया, माझी, बोटे तथा दलित समुदायका विपन्न परिवारलाई लक्षित गरी एकीकृत बस्ती तथा आवास कार्यक्रम र जनता आवास कार्यक्रम सञ्चालन गरिएको प्रमुख इन्जिनियर यादवले जानकारी दिनुभयो । यी समुदायका धेरै परिवार वर्षौंदेखि फुसको छानो भएको असुरक्षित घरमा बस्दै आएका थिए ।

    उहाँका अनुसार एकीकृत बस्ती तथा आवास कार्यक्रमअन्तर्गत चालु आव २०८२/८३ मा ९४ घर र जनता आवास कार्यक्रमका लागि एक सय पाँच आवास योजना स्वीकृत भएको छ ।

    चालु आव २०८२/८२ को एकीकृत वस्ती तथा आवास कार्यक्रमअन्तर्गत चितवनको माडी नगरपालिका–७ मा चेपाङ समुदायको एकीकृत बस्तीका लागि ३९ वटा नयाँ घर निर्माण गर्न लागिएको प्रमुख यादवले बताउनुभयो । प्रदेश सरकारको नमूना योजनाका रुपमा सो एकीकृत बस्ती निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।

    एकीकृत बस्ती तथा आवास कार्यक्रमअन्तर्गत मकवानपुरको राक्सिराङ, मनहरी, कैलाश, बागमती, बकैयाँ र हेटौँडा उपमहानगरपालिकामा पाँच/पाँच वटा घर निर्माण गरिने जनाइएको छ । यस्तै, चितवनको इच्छाकामना, खैरहनी, कालिकामा पाँच/पाँच र राप्तीमा १० वटा नयाँ घर निर्माण गरिने योजना स्वीकृत भएको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।

    त्यस्तै, जनता आवास कार्यक्रमअन्तर्गत चार सय घर निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका अधिकांश घर लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ ।

    जनता आवास कार्यक्रमअन्तर्गत चालु आव २०८२/८३ मा एक सय पाँच वटा नयाँ घर बनाउने योजना स्वीकृत भएको प्रमुख यादवले बताउनुभयो ।

    उहाँका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिका ३३, बागमती गाउँपालिकामा १०, मनहरीमा आठ, कैलाशमा पाँच, बकैया गाउँपालिका सात र हेटौँडा उपमहानगरपालिकामा ६ वटा घर निर्माण गरिने जनाइएको छ ।

    यस्तै, चितवनको राप्तीमा २०, इच्छाकामना र खैरहनीमा पाँच/पाँच र कालिकामा ६ वटा नयाँ घर निर्माण गरिने योजना स्वीकृत भएको छ ।

    सरकारले बरन्डासहित दुईकोठे पक्की घर र शौचालय निर्माणका लागि प्रतिपरिवार चार लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । यद्यपि निर्माण सामग्रीको मूल्य अत्यधिक बढेका कारण तोकिएको बजेटमा काम सम्पन्न गर्न चुनौती थपिएको सम्बन्धित अधिकारीहरूको भनाइ छ ।

    सुरक्षित घरले विपन्न परिवारको जीवनमा केवल भौतिक सुविधा मात्र थपेको छैन, सामाजिक सम्मान र आत्मविश्वास पनि बढाएको छ । पहिले झुप्रोमा बस्ने परिवारलाई समाजले हेर्ने दृष्टिकोण फरक थियो । तर अहिले आफ्नै पक्की घर भएपछि उहाँहरूमा आत्मसम्मान बढेको छ ।

    बालबालिकाले सुरक्षित वातावरणमा पढ्न पाएका छन् भने महिलाहरू पनि घरभित्र निर्धक्कसँग बस्न सक्ने अवस्था बनेको छ । स्थानीयवासीका अनुसार पक्की घरले परिवारको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । चुहिने छानो, चिसो र धुवाँयुक्त वातावरणबाट हुने रोग कम भएका छन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु