आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

घट्दैछ तरकारीमा विषादी


  • २०८३ जेष्ठ १९, मंगलबार १ दिन अघि
  • ३७ पाठक संख्या
  • कैलाली/  टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका १४ किसानको बारीका तरकारीको नमूना सङ्कलन गरी ‘कार्वामेट’‘अर्गानोफस्फेट’ समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खानयोग्य पाइएको हो ।

    प्रयोगशालाले किसानका बारी र हाटबजारमा बिक्रीमा राखिएका तरकारीको नमूना सङ्कलन गरेको थियो । त्यसक्रममा काँक्रो, हरियो फर्सी, भिण्डी, तितेकरेला, लौका, खुर्सानी, गोलभेडा, तरबुजा, बोडी, घिरौला, बन्दागोभीलगायतका तरकारीको परीक्षण गरेको हो ।

    परीक्षण गर्दा कार्वामेटको रोकावट प्रतिशत ४.६७ सम्म र अर्गानोफस्फेट अन्य तरकारीमा रोकावट प्रतिशत ९.८ प्रतिशतसम्म भेटिएको थियो भने बोडीमा ३३.३७ रोकावट प्रतिशत भेटिएको छ ।

    विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले अर्गानोफस्फेटको प्रयोग ३५ प्रतिशतभन्दा कम भए खानयोग्य र त्यसमाथि भए स्वास्थ्यका लागि खान अयोग्य हुने बताउनुभयो ।

    ‘रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोग गर्न योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘४५ प्रतिशतमाथि देखिएमा सोही ठाउँमा विसर्जन गर्नुपर्ने व्यवस्था छ ।’

    यहाँ मानव स्वास्थ्य र माटो संरक्षणका लागि किसानले विषादीरहित तरकारीखेती गरिरहेका छन् । गुड नेभर्स इनटरनेशनल नेपालले सेवक नेपाल कैलालीको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेतीका लागि टीकापुर, जानकी र लम्कीचुहामा किसानलाई सघाइरहेको छ ।

    परियोजनाले स्वच्छ माटो, सुरक्षित बाली र स्वस्थ जीवनका लागि प्राकृतिक खेतीका लागि प्रोत्साहन गरिरहेको जनाइएको छ ।

    परियोजनाका ‘क्लस्टर’ संयोजक अरुण चौधरीका अनुसार तीन वर्षदेखि सञ्चालित परियोजनामा यसअघि तीन सय जना किसान आबद्ध रहेकामा यस वर्ष थप तीन सय  गरी ६ सय किसानले ५० बिघा जमिनमा प्राकृतिक खेती गरिरहेका छन् । परियोजनामार्फत किसानलाई आवश्यक बीउबिजन, कृषि सामग्री र तालिम दिने गरिएको छ ।

    यसले उपभोक्ताको स्वास्थ्य र किसानको आयआर्जनमा सहयोग भइरहेको परियोजनाका क्लस्टर संयोजक चौधरीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यसरी खेती गरिरहेका किसानले एउटै सिजनमा लाखौँ आम्दानी गरिरहेका छन् । छापो राख्ने, खनजोतबिना वा न्यूनतम खनजोत, कम्पोस्ट मल प्रयोग र सूक्ष्म जीवको वृद्धि गर्ने चार सिद्धान्तमा आधारित रहेर काम गर्न प्रोत्साहन गरिरहेका छौँ ।’

    किसानलाई जिम्मेवार बनाउन समय समयमा तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने गरिएको छ । जानकी गाउँपालिकाकी किसान पशुपति चौधरीले विगतमा परीक्षण नहुँदा तरकारीमा अन्धाधुन्द विषादी छर्ने गरिएकामा अचेल पिना, गोबर मल र जैविक मलको प्रयोग गरिरहेको बनाउनुभयो । उहाँले दुई कट्ठामा तरकारीखेती गरिरहनुभएको छ ।

    चौधरीले भन्नुभयो, ‘परियोजनाले तालिम तथा आवश्यक सहयोग गरेपछि विषादी प्रयोगबारे सचेत भएकी छु । यसले उपभोक्तामा पनि सकारात्मक सन्देश गएको छ ।’

    अर्का किसान रामनारायण चौधरीले आफूले १५ कट्ठा जमिनमा तरकारीखेती गर्दा दैनिक दुई हजार रुपैयाँसम्मको तरकारी बिक्रीबाट लाभ लिइरहेको बताउनुभयो । उहाँले जग्गा भाडामा लिएर तरकारीखेती गरिरहनुभएको छ ।

    चौधरीले थप्नुभयो, ‘हाम्रो बारीमा विषादी प्रयोग नगरिएको तरकारी पाइन्छ । आजभोलि गाउँका मानिस पनि अर्गानिक तरकारी पाइन्छ भनेर बारीमै किन्न आउँछन् । यस वर्ष काँक्रो मात्रै ४० क्विन्टलभन्दा बढी बिक्री भयो । उत्पादनको बजारीकरणका लागि कुनै समस्या छैन ।’

    अर्का किसान श्यामसुन्दर चौधरीले ६ कट्ठा जमिनमा व्यावसायिक तरकारीखेती गरेर लाभ लिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाली रोप्नुअघिदेखि नै माटो संरक्षणमा ध्यान दिने गरेका छु । यसबाट हुने उत्पादनले परिवार, आमउपभोक्ता र माटोको स्वास्थ्य सुधारमा पनि योगदान पुगेको छ । विषादी प्रयोग गर्न छोडेपछि धेरै फाइदा हुँदो रहे छ नि !’

    उहाँले यस वर्ष ५० हजार रुपैयाँको टमाटर र ४० हजार रुपैयाँको काँक्रा बिक्री गरेको जानकारी दिनुभयो ।

    जानकी गाउँपालिकाका कृषि प्राविधिक चक्रप्रसाद भाट उपभोक्ता पनि विषादीरहित तरकारीबारे सचेत हुनुपर्ने बताउनुहुन्छ । विषादीरहित तरकारीमा दाग, कीरा लागेको भए पनि स्वास्थ्यका लागि राम्रो हुने उहाँको भनाइ छ ।

    कृषि प्राविधिक भाट भन्नुहुन्छ, ‘उपभोक्ता आकर्षक र चिल्लो देखिने तरकारी मन पराउँछन् । तर, त्यसको स्वास्थ्य लाभबारे ध्यान दिँदैन । अब प्रयोगबारे उपभोक्ता र विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि किसान सचेत हुनुपर्ने आवश्यकता छ ।’

    माटोको उर्वरा शक्ति बढाउन, उत्पादन वृद्धि र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लाग्न आफूहरूले किसानलाई सचेत गराउँदै आएको उहाँले बताउनुभयो ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु