
भोजपुर/ १२ वर्षअघि अवसरको खोजीमा जन्मथलो टक्सार छाडेर काठमाडौँ गएका सुजन उदासले सोच्नुभएको थिएन, फेरि गाउँमै फर्किएर व्यवसाय सञ्चालन गर्नुपर्ला भनेर । तर, उहाँले सोचेजस्तो भएन । ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भनेझैँ उहाँ पनि फेरि गाउँ फर्किनुभयो ।
काठमाडौँ बसाइ बिट मार्दै यहाँ आएपछि उहाँले भोजपुर नगरपालिका–१२ स्थित ऐतिहासिक टक्सार बजारमा ‘टक्सार नेवाः घासा’ सञ्चालन गर्नुभएको छ । पछिल्ला दिनमा उहाँको व्यवसाय स्थानीय तथा नेवारी परिकारको स्वाद लिने थलो बनेको छ ।
उदासले भन्नुभयो, ‘पहिले यहाँ सम्भावना देखिनँ त्यसैले बाहिरिएँ । तर, पछिल्ला वर्षमा पर्यटकको चहलपहल बढ्न थालेको देखेर आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास जाग्यो र फर्किएँ । यसरी फर्किएकामा कुनै पछुतो छैन ।’
उदासको पुनरागमनले व्यवसायको सुरुआतमात्रै होइन, लामो समयदेखि बसाइँसराइका कारण सुनसानजस्तै बनेको टक्सार बजारलाई चलायमान बनाउन योगदानसमेत गरिरहेको छ । उहाँको कदमले यसका साथै गाउँ छाडेर सहर गएकाहरूलाई गाउँ फर्किएर केही गर्न महत्त्वपूर्ण सन्देशसमेत दिएको छ ।
विगतमा नेपालमा ‘डोली पैसा’ उत्पादन हुने केन्द्रका रूपमा परिचित टक्सार पछिल्ला दशकमा जनशक्ति पलायनको मारमा परिरहेको थियो । यहाँ कलात्मक नेवारी घरहरू जीर्ण बन्दै गएका थिए भने बजारको चहलपहल पनि घट्दै गएको थियो ।
पछिल्ला वर्षमा भने आन्तरिक पर्यटकको आगमन बढ्न थालेसँगै टक्सारले फेरि जीवन पाउन थालेको उदासको बुझाइ छ । सोही बुझाइपछि आफू आफ्नै गाउँ फर्किएको उहाँले सुनाउनुभयो ।
स्थानीयवासी विमल रणपहेलीका अनुसार उदासमात्रै नभइ विगतमा अवसरको खोजीमा बाहिरिएका अन्य केही स्थानीयहरूले गाउँ फर्किएर व्यवसायमा लगानी गर्न थालेका छन् ।
उहाँले भन्नुभयो, ‘पहिले बजार खाली हुँदै गएको थियो । यहाँबाट छोडेर गएकामध्ये केही व्यक्तिहरू आफ्नै ठाउँमा फर्केर व्यवसाय गर्न थालेका छन् । यसले उत्साह थपिएको छ । अब सरकारले उचित वातावरण बनाएर गाउँ फर्किने आधार बनाउन आवश्यक छ ।’
स्थानीयका अनुसार टक्सारको ऐतिहासिक सम्पदा, नेवारी संस्कृति, मौलिक परिकार र पुराना बस्तीले पर्यटक आकर्षित गर्न थालेका छन् । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ ।
उदासले पनि स्थानीय अर्थतन्त्रमा थोरै भए पनि योगदान गर्ने योजनाअनुसार गाउँ फर्किएको र आफ्नो निर्णयमा सन्तुष्ट रहेको सुनाउनुभयो ।
‘आफ्नो ठाउँमा काम गर्नुको छुट्टै आनन्द रहेछ’, उहाँले भन्नुभयो, ‘टक्सारको पहिचान जोगाउँदै आफ्नै ठाउँमा केही गर्न सकेँ भने त्यो मेरो सबैभन्दा ठूलो सफलता हुनेछ । त्यसका लागि मिहिनेत गरिरहेको छु ।’
टक्सार १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्धको पालामा स्थापित सहर हो । यसलाई बजारलाई ‘मिनी पाटन’ का रूपमा पनि चिनिन्छ । ललितपुरको पाटनमा भएअनुसारका धार्मिकस्थलहरू यहाँ पनि रहेकाले यस स्थानलाई त्यस्तो भनिएको जानकारहरू बताउँछन् ।
पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका र यहाँ नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत रहेको छ । जसको स्थापना १९९३ सालमा भएको थियो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइने गरिएको स्थानीय रणपहेलीले बताउनुभयो ।
यही ऐतिहासिक स्थानमा पछिल्लो समय नयाँ होटल, रेस्टुरेन्ट, क्याफे तथा सांस्कृतिक गतिविधि विस्तार हुन थालेका छन् । ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन र स्थानीय व्यवसायलाई जोड्न सके टक्सार पूर्वी नेपालको आकर्षक पर्यटन गन्तव्यका रूपमा पुनः स्थापित हुनसक्ने सम्भावना रहेको स्थानीय किशोरकुमार ताम्राकारको भनाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस