
इलाम/ पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका हुन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाएका छन् ।
माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यसवर्ष मात्र २५ क्विन्टल सुपारी बिक्री गर्नुभएको छ । ‘मैले अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु । आधा बोटबाट आम्दानीसमेत लिन थालिसकेको छु’, उहाँले भन्नुभयो, ‘प्रतिकेजी ७० रुपैयाँसम्ममा घरबाटै बिक्री हुने गरेको छ ।’
एकपटक मेहनत गरेमा सजिलै फल्ने भएकाले व्यावसायिक सुपारीखेतीबाट मनग्य आम्दानी लिन सकिने उहाँको भनाइ छ । उहाँले करिब पाँच हजार बोट सुपारी रोप्नुभएकामा अधिकांश बोटले आम्दानी दिन थालिसकेका छन् ।
अर्का किसान धर्मराज पुरीले यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरेको सुनाउनुभयो । केही बोटले उत्पादन दिन थालेको र थप केही बोट उत्पादन दिन तयार भएकाले आगामी दिनमा थप व्यावसायिक कारोबार बढ्ने उहाँले बताउनुभयो ।
पुरीले करिब १० रोपनी क्षेत्रमा पाँच हजार बोट सुपारी लगाउनुभएको छ भने थप बोट रोप्ने तयारी गर्नुभएको छ । ‘अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले व्यावसायिक तवरले सुपारीखेती सुरु गरेको हुँ’, उहाँले भन्नुभयो, ‘बिक्री नहुने हो कि भन्ने कुनै चिन्ता छैन । व्यापारीहरूले बगानबाटै प्रतिकेजी ७० रुपैयाँसम्ममा किनेर लैजाने गरेका छन् ।’
सुपारीखेती सुरु गरेपछि घरव्यवहार चलाउन सहज भएको अर्का किसान पवन किराती बताउनुहुन्छ । ‘मैले करिब आठ हजार बोट रोपेको छु । केही बोटबाट आम्दानी हुन थालेको छ’, उहाँले भन्नुभयो, ‘यस वर्ष १० क्विन्टल काँचो सुपारी बिक्री गरेको छु । यसले घरखर्च टार्न सहज भएको छ ।’
किरातीको बगानमा हाल केही बोट फल्न थालेका र अधिकांश हुर्कंदै गरेका छन् । उहाँले भन्नुभयो, ‘बहुवर्षे नगदेबाली भएकाले सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन हुने गरेको छ । यसले क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकाले तरकारी र अन्य बाली लगाएर दोहोरो फाइदासमेत लिन सकिन्छ ।’
अर्का किसान अभिषेक यक्तेनले घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न सकिने हुँदा धेरै किसान लाभान्वित भएको बताउनुभयो ।
पछिल्लो समय इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
विशेष गरी जिल्लाको माई नगरपालिका तथा चुलाचुली, माङसेबुङ र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस