आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

स्वदेशी सम्मान र सन्तुष्टिको स्वादै बेग्लै


  • आफ्नै खबर
  • २०८३ जेष्ठ २९, शुक्रबार ५ घण्टा अघि
  • ३८ पाठक संख्या
  • म्याग्दी/  रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ ।

    २०७६ सालदेखि करिब २०८० सालसम्म पोर्चुगलमा बस्नुभएका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिनुभएको हो । छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताउनुभयो ।

    ‘पहिले साउदीबाट आएर राहुघाटमा जग्गा किनेर बाख्रा र कुखुरापालन गरेको थिएँ’, उहाँले भन्नुभयो, ‘छोराछोरीले पोर्चुगल बोलाएपछि करिब १४–१५ महिना त्यहाँ बसेँ, घुमे । पिआर कार्ड पनि बनाएँ । घर आएपछि फर्किएर पोर्चुगल जान मन लागेन । सम्मान र सन्तुष्टिका लागि बाख्रापालनलाई निरन्तरता दिएको हो ।’

    पोर्चुगल जानुअघि मल्लले २०६८ सालमा रघुगङ्गा बाख्रा तथा कृषि फार्म स्थापना गरेर बाख्रा, कुखुरापालन, मासु पसल सञ्चालन गर्दै आउनुभएको थियो । हाल ९१ वटा बाख्रा भएको मल्लको फार्मबाट वार्षिक २५ देखि ३० वटा खसीबोका बिक्री हुन्छ ।

    खसीबोकाकै हाराहारीमा पाल्नका लागि उन्नत जातका पाठापाठी पनि किसानले लैजाने गरेका छन् । उहाँको फार्ममा स्थानीय जमुनापारी, सिनाल र बोयर जातका बाख्रा छन् । फार्ममा उहाँका परिवारका दुई जना सदस्यबाहेक थप दुई जनालाई रोजगारी दिनुभएको छ । 

    मासुका लागि प्रतिकिलो ६ सय रुपैयाँ र नश्ल सुधार गरेका पाठापाठीलाई प्रतिकिलो आठ सयदेखि एक हजार रुपैयाँका दरले गोठबाटै बिक्री हुने गरेको मल्लले बताउनुभयो । उहाँका अनुसार फार्ममा करिब ५० लाख रुपैयाँभन्दा बढी लगानी भएको छ ।

    उहाँले घरवरिपरी प्रशस्त पाखोबारी भएकाले चरनमा आधारित बाख्रापालन गर्नुभएको छ । खोरभित्र उमेर समूहअनुसार पाठापाठी, माउ बाख्रा, खसीबोका राख्ने छुट्टाछुट्टै कोठा छन् । गलेश्वर र बेनी उहाँले उत्पादन गरेका खसीबोकाको बजार हुन् । व्यापारी गोठमै आएर खसीबोका किनेर लैजान्छन् ।

    विदेशमा स्थायी बसोबासको अवसर हुँदाहुँदै पनि मल्लले जन्मथलो फर्केर बाख्रापालनलाई निरन्तरता दिएकाले कृषि क्षेत्रमा अवसर र आत्मसन्तुष्टि दुवै प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ । स्थानीय स्रोतसाधन, पाखोबारी र चरनको सदुपयोग गरेर रोजगारी सृजना, आयआर्जन र उद्यमशीलता विकास गर्न सकिने उहाँको सन्देश छ ।

    ‘युवापुस्तासहित वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने मेरो प्रयास हो’, मल्लले भन्नुभयो, ‘विदेशको सुविधाभन्दा आफ्नै गाउँमा कृषि उद्यमबाट प्राप्त हुने सम्मान, आत्मसन्तुष्टि र आत्मनिर्भरता ठूलो हुने महसुस गरेको छु ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु