आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

नेपाल आँखा अस्पताल आइतबार पनि खुल्ला


  • आफ्नै खबर
  • २०८३ जेष्ठ २९, शुक्रबार ४ घण्टा अघि
  • ४९ पाठक संख्या
  • काठमाडौँ/  त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ ।

    नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा  सेवा उपलब्ध गराउँदै आएको छ ।

    अस्पतालमा हरेक दिन बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु हुने र दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिनुभयो ।

    अस्पतालले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट, नर्सिङ तथा प्राविधिक जनशक्तिमार्फत आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा हाल १६ जना नेत्र विशेषज्ञ, १ जना एनेस्थेसियोलोजिष्ट, ७ जना अप्टोमेट्रिष्ट, ३ जना फेलो समेत गरी जम्मा एक सय ५० जना कर्मचारी छन् ।

    अस्पतालमा दैनिक करिव सात सयदेखि नौ सय बिरामीले सेवा लिने गरेका छन् भने मोतिबिन्दु, रेटिना, जलविन्दु, कर्निया तथा बाल आँखा रोग सम्बन्धी जटिल उपचार तथा शल्यक्रियासमेत नियमित रूपमा सञ्चालन हुने गरेको छ ।

    नेपाल आँखा अस्पतालबाट बहिरङ्ग सेवा, विशेषज्ञ परामर्श सेवा, मोतिबिन्दु क्लिनिक, बाल आँखा सेवा, अर्थोप्टिक्स सेवा लगायतका विविध उपचार सेवा उपलब्ध छन् । त्यसैगरी, २४ सै घण्टा आकस्मिक सेवा तथा अन्तरङ्ग (इन–पेसेन्ट) सेवा सञ्चालनमा रहेकाले आकस्मिक अवस्थामा समेत बिरामीले निरन्तर सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

    शल्यक्रिया सेवाअन्तर्गत मोतिबिन्दु, रेटिना, ग्लुकोमा, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन भइरहेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु