आज: २०८३ अषाढ १९, शुक्रबार | Fri, 03, Jul, 2026

एक महिनामै ८० हजार विदेशीले घुमे मुस्ताङ


  • आफ्नै खबर
  • २०८३ अषाढ १९, शुक्रबार ९ घण्टा अघि
  • ५७ पाठक संख्या
  • मुस्ताङ/  सन् २०२६ को जुन महिनामा ८० हजार दुई सय ५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६ सय ७० जना सार्क राष्ट्रबाट र एक हजार पाँच सय ८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् ।

    कूल भित्रिएका विदेशी पर्यटकमध्ये ९८.०२ प्रतिशत सार्क राष्ट्र तथा १.९८ प्रतिशत अन्य राष्ट्रका पर्यटक रहेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको उहाँले बताउनुभयो ।

    सन् २०२६ को मे महिनामा ६५ हजार नौ सय ९४ विदेशी पर्यटक मुस्ताङको भ्रमणमा आएका थिए । यसरी भित्रिएका पर्यटकमध्ये सार्क राष्ट्रका ६१ हजार सात सय ९८ तथा अन्य राष्ट्रका चार हजार एक सय ९६ जना रहेका छन् ।

    एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२५ को जुन महिनामा कुल २० हजार आठ सय ६८ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । उक्त महिनामा सार्क राष्ट्रबाट १९ हजार ६ सय ४९ र अन्य मुलुकबाट एक हजार दुई सय नौ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

    एक्याप प्रमुख गुप्तका अनुसार सन् २०२५ को जुन महिनाको तुलनामा सन् २०२६ को जुन महिनामा मात्रै मुस्ताङ जिल्लामा ५९ हजार तीन सय ९५ विदेशी पर्यटक बढेका छन् ।

    सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा दुई लाख २२ हजार नौ सय ९२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये सार्कतर्फ दुई लाख आठ हजार ११ जना र अन्य राष्ट्रतर्फ १४ हजार नौ सय ८१ जना रहेका एक्याप प्रमुख गुप्तले जानकारी दिनुभयो ।

    यसअघि सन् २०२५ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ९८ हजार चार सय ८१ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । एक्याप कार्यालयको तथ्याङ्कअनुसार सन् २०२५ को तुलनामा सन् २०२६ जुनसम्मको ६ महिना अवधिमा एक लाख २४ हजार पाँच सय ११ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।

    एक्याप जोमसोम कार्यालयको तथ्याङ्कअनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म कूल एक लाख ६१ हजार एक सय ४२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

    सन् २०२६ मा भारतीय पर्यटकको मुस्ताङ आगमन अत्यधिक रुपमा वृद्धि भएको छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका एक्यापको तथ्याङ्कमा उल्लेख छ । छिमेकी देश भारतबाट उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेका एक्याप प्रमुख गुप्तले बताउनुभयो ।

    मुस्ताङ भित्रिएका भारतीय पर्यटकमध्ये ५० प्रतिशतले आफ्नै देशबाट निजी सवारीसाधन लिएर मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् । मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएका भारतीय पर्यटकको उपस्थितले मुस्ताङसहित म्याग्दी, बाग्लुङ र पोखराका होटल पर्यटकले भरिभराउ छन् । मुस्ताङ आएका अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किने गरेका पाइएको छ ।

    यसैगरी अन्य राष्ट्रका पर्यटक भने राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै मुस्ताङ भित्रिने गरेका छन् भने कतिपय अन्य राष्ट्रका विदेशी पर्यटक पोखरा–जोमसोम हवाईमार्ग र बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिने गर्छन । एक्याप लोमान्थाङका अनुसार मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु