आज: २०८३ अषाढ १९, शुक्रबार | Fri, 03, Jul, 2026

हेटौँडा जाँदा सहिद स्मारक पुग्नुभो ?


  • २०८३ अषाढ १९, शुक्रबार ८ घण्टा अघि
  • ४८ पाठक संख्या
  • मकवानपुर/  बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकले यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रुपमा चासो र चर्चा कमाएको छ । हेटौँडाको दर्शनीयस्थलका रुपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।

    विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रुपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि पनि यो नछुटाउने गन्तव्यजस्तै बनिरहेको स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो

    विशेषतः सार्वजनिक बिदाका दिनमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको जानकारी दिँदै उहाँले नयाँ वर्षको दिनमा त ३० हजारसम्म पर्यटक आएको बताउनुभयो

    ‘पछिल्ला समयमा यो स्मारक नेपालकै गौरव र हेटौँडाको पहिचान बनिरहेको छ’, उहाँले भन्नुभयो, ‘बढ्दो पर्यटकीय आकर्षणसँगै पूर्वाधार विकासलाई पनि उच्च प्राथमिकतामा राखेर कामहरू अघि बढाइएको छ ।’

    हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म स्मारक खुला हुने गरेको कर्मचारी दुर्गा सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार स्मारक घुम्न आउने पर्यटकका लागि विभिन्न दरका टिकट दस्तुर निर्धारण गरिएको छ ।

    नेपाली सर्वसाधारणका लागि प्रतिव्यक्ति ५० रुपैयाँ, विद्यार्थीका लागि ३० रुपैयाँ टिकट शुल्क तय गरिएको छ । विदेशी पर्यटकमध्ये सार्क राष्ट्रका पर्यटकका लागि एक सय रुपैयाँ र अन्य विदेशी मुलुकका पर्यटकका लागि एक सय ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।

    स्मारक पुग्नासाथ नेपाली शैली झल्काउने भक्तपुरे इँटाद्वारा निर्माण गरिएको कलात्मक टुँडाल झ्यालसहितको आकर्षक प्रवेशद्वारले भित्री सौन्दर्यको पूर्वानुमान समेत गर्दै पर्यटकहरू प्रवेश गर्दछन् ।

    तत्कालीन समयमा नेकपा (माले) र उसको भ्रातृ सङ्गठन प्ररायुसङ्घ मकवानपुरको संयुक्त आयोजनमा २०४७ साउन ७ गते यस क्षेत्रलाई सहिद स्मृति वाटिका नामकरण गरी वृक्षरोपण गरिएकामा २०४९ पुस १७ गतेको जिल्ला परिषद्को निर्णयबाट उक्त बाटिकालाई नै सहिद स्मारक पार्कको रुपमा विकास गर्ने गरी पार्कको शिलान्यास गरिएको थियो ।

    सुरुमा विभिन्न कालखण्डका भक्ति थापादेखि २०४६ सालसम्मका सहिदहरूलाई समेट्ने गरी १२ जना सहिद र ज्ञात अज्ञात सहिदको प्रतिनिधिको रुपमा एक/एक महिला र पुरुषको अमुक आकृति समावेश गरी बनाइएको सहिद स्मारकको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ माघ १७ गते अनावरण गरेसँगै स्मारकको विकासक्रम सुरु भएको हो ।

    पछिल्लो समयमा स्मारक क्षेत्रमा थपिएका विभिन्न पूर्वाधारले यहाँको महत्व र आकर्षणलाई अझै बढाएको सङ्ग्रहालयका अर्का कर्मचारी अनुपकुमार अधिकारीले बताउनुभयो ।

    स्मारकमा पूर्वाधार विस्तारसँगै विभिन्न कालखण्डमा सहादत प्राप्त गर्नुहुने सहिदको बारेमा प्रकाशित पुस्तक, जीवनी, लेखरचना फोटोलगायतका सम्पूर्ण विवरण एउटै थलोमा प्रप्त हुने गरी सहिदको बारेमा अध्ययन अनुसन्धान एवं खोज गर्नका लागि सहिद अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।

    विविधताले भरिपूर्ण

    सहिद स्मारक बनभोजका लागि आकर्षक गन्तव्य बनिरहेको छ । वनभोजस्थलसम्म जाने बाटोहरू, पानी, बिजुली बत्ती, शौचालय आदिको व्यवस्था गरिएको छ । विशेषतः हरेक वर्ष असोजदेखि मङ्सिर महिनासम्म समूह समूहमा ठूलो सङ्ख्यामा वनभोजका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।

    वनभोजका लागि आउनेका लागि टेण्ट तथा क्याटरिङ हाउस सञ्चालनमा राखिएको छ भने आवश्यक भाँडावर्तन, साउण्ड सिस्टम, कुक तथा हेल्पर आदिको सुविधा उपलब्ध गराउने गरिएको छ । पर्याप्त पानी तथा बिजुलीको व्यवस्थाका कारण आउनेलाई सहज हुने गरेको छ ।

    स्मारक परिसरमा बालबालिकाको मनोरञ्जनका लागि चिप्लेटी, पिङ, जिप, ट्रेन, आदि रहेको छ भने वयस्कको लागि रोटेपिङ, डुङ्गा, फ्लाइङ चेयर, फ्लाइङ कार आदि सञ्चालित छन् ।

    त्यस्तै, साहसिक मनोरञ्जनात्मक खेलहरू जिपलाइन, रोलर कोस्टर, स्काइ साइकल पनि सञ्चालन गरिएको छ । साहसिक मनोरञ्जनात्मक खेलका लागि निजी क्षेलाई लिजमा दिएर सञ्चालन गरिएको व्यवस्थापक न्यौपानेले जानकारी दिनुभयो

    स्मारक परिसरमा सहरी विकास तथा भवन निर्माण विभागको सहयोग तथा सहिद स्मारक विकास समितिको संयुक्त लगानीमा ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहको पूर्णकदको प्रतिमासहित आकर्षक बगैँचा, फाउण्टेनसहितको प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ ।

    सम्पूर्ण सहिदहरूलाई एकै थलोमा स्मरण गर्न ६५ फिट अग्लो १९ मिटर गोलाइको सहिदस्तम्भ यहाँको अर्को आकर्षण हो । चारैतिरबाट कमलको फूलको आकार देखिने र भित्री भागमा विभिन्न कालखण्ड झल्कने अर्ध अमूर्त आकृति, चार फोहोरा, आकर्षक बगैँचा, अग्रभागमा मुख्य नदीहरू, हिमशृङ्खलादेखि तराईसम्म बगिरहेको दृश्यसहितको नेपालको नक्सा राखिएको छ ।

    त्यस्तै जननेता मदनकुमार भण्डारीको स्मृतिमा तत्कालीन जिल्ला विकास समिति, हेटौँडा नगरपालिका तथा सहिद स्मारकको संयुक्त लगानीमा भण्डारीको दुःखद मृत्यु भएको स्थान दासढुङ्गाको दृश्य प्रतिबिम्बित हुने गरी सूर्यको पृष्ठभूमिमा तराई, पहाड, हिमालसहितको टाकुरामा वक्ता मुद्रामा उहाँको पूर्णकदको प्रतिमा राखिएको छ ।

     परिसरमा माटाको पहाड, हरियो दुबो, फूलका क्यारी र सजावटी बिरुवासहितको मदन बाटिका अर्को आकर्षणको रुपमा रहेको छ ।

    स्मारक क्षेत्रमा नै तत्कालीन जिल्ला विकास समिति मकवानपुरको सहयोगमा पर्यटक सूचना केन्द्र भवन निर्माण भई भुईँतलामा समितिको कार्यालय र माथिल्लो तलामा सूचना केन्द्र सञ्चालन गरिएको छ ।

    केन्द्रमा मकवानपुरमा रहेका ऐतिहासिक, धार्मिक, मानव निर्मित पर्यटकीयस्थलको तस्बिर राखी विशेष जानकारीको रुपमा डिस्प्लेमार्फत सूचना प्रवाह गर्ने गरिएको छ । त्यस्तै यही परिसरमा मकवानपुरमा उपलब्ध हुने हस्तकलाका सामग्री, उपहार आदि बिक्री वितरण गर्ने गरिएको छ ।

    परिसरमा नै मकवानपुरको राजनीतिक आकासमा विशिष्ट पहिचान राख्ने तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य स्व. रूपचन्द्र विष्टको स्मृतिमा निष्पक्ष सक्रियताको अभ्यास थाहा लेखिएको थाहा स्तम्भ २०५६ सालमा हेटौँडा उपमहानगर पालिकाको सहयोगमा निर्माण गरिएको छ ।

    त्यस्तै, हेटौँडा १७ निवासी जितबहादुर विश्वकर्माले आफ्नै हातले तयार गरी सौजन्य गर्नुभएको पित्तलको मिनी धरहरा परिसरभित्रै देख्न सकिन्छ ।

    स्मारकको पूर्वतर्फ पर्यटकलाई बस्न, घुम्न, मनोरञ्जन र फोटो खिच्नको लागि आकर्षक बगैँचा, आर्कब्रिज, आरामदायी कुर्सीहरू, वरपीपल चौतारी, विभिन्न रूखहरूको छहारीलाई जोडेको कलात्मक बाटो, हरियाली दुबो, बगैँचा, सदाबहार फूलहरू सजिएको बालबालिका खेल्ने र फोटो खिच्नको लागि आकर्षक सामग्रीहरू समेत राखिएको छ ।

    स्मारक परिसरभित्र रहेको चिडियाघर यहाँको अर्को आकर्षण हो । करिब तीन बिगाहा क्षेत्रफलमा रहेको चिडियाघरमा संसारको सबैभन्दा ठूलो चरा अस्ट्रिचसहित घडियाल गोही, चितुवा, चित्तल, रतुवा मृग, रातो बाँदर, खरायो, विभिन्न प्रजातिका कछुवा, बेलायती मुसा, हुचिल (विभिन्न जातका), गिद्ध, लक्का परेवा, मयुर, राजहाँसलगायत विभिन्न जीवजन्तु र पन्छीहरू केही खुला क्षेत्रमा र केही बन्द कोठामा रहेका छन् ।

    विशेषगरी स्कुले विद्यार्थीका साथै वन्यजन्तुको अध्ययन अवलोकन र अनुसन्धान गर्न चाहनेका लागि पनि चिडियाघर रोजाइमा पर्ने गरेको छ । सहिद स्मारक र मदन स्मारकलाई जोडिने गरी करिब ६५ मिटर लामो झोलुङ्गेपुल यहाँको अर्को आकर्षण हो ।

    यसमा आधुनिक प्रविधि जडान गरी धातुको मुद्रा खसालेपछि मात्र खोलिने स्वचालित द्वार रहेको छ । यसको संरक्षण संवर्द्धनका लागि प्रतिमुद्रा १० रुपैयाँ लिएर प्रवेश गराउँदा पनि यहाँ जाने र फोटो खिच्नेहरूको आकर्षण बढिरहेको छ ।

    जुन समितिको आम्दानीको स्रोतका रुपमा रहेको छ । पर्यटकहरूले तिरेको प्रवेश शुल्कबाट वार्षिक दुई करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । आम्दानीबाट यहाँ कार्यरत ३६ जना कर्मचारीसँगै यहाँको दैनिक कार्य सञ्चालनमा सहयोग पुगेको व्यवस्थापक न्यौपानेको भनाइ छ ।

    त्यस्तै प्रवेश द्वारबाट दक्षिणतर्फ देखिने कृत्रिम झरना (फाउण्टेन), वरपर बाटो तथा हरियालीयुक्त बोटबिरुवा आदिले यहाँको सौन्दर्यलाई टेवा पुर्याएका छन् । प्रवेशद्वार अगाडि दुवै बाटोको बीचमा सजाइएका फूलहरूले पर्यटकलाई लोभ्याउने गरेका छन् । त्यस्तै यही सजाइएको शान्तिका दूत भगवान् गौतमबुद्धको सानो मूर्तिले पनि आकर्षण बढाएको छ ।

    यहाँ रहेको जातीय सङ्ग्रहालय अर्को महत्वपूर्ण दर्शनीयस्थल हो । यसमार्फत मकवानपुरमा रहेका दनुवार, चेपाङ, बनकरिया, राउटे, राई, लिम्बू, नेवार, तमाङलगायत २६ जातिको पहिरन, प्रयोग गरिने सामान, सांस्कृतिक पर्वले जातीय इतिहासलाई जीवन्तता दिने प्रयास गरिएको व्यवस्थापक न्यौपाने बताउनुहुन्छ ।

    स्मारकमा गौरीशङ्कर हिमालको प्रतिमा निर्माण गरिएको छ । बत्तीस फिट लम्बाइ र १५ फिट उचाइको गौरीशङ्कर हिमालको दुवै चुचुरो देखिने गरी निर्माण गरिएको यो हिमाल निकै सुन्दर बनेको छ ।

    पहाड तथा त्यहाँ रहेका गाउँबस्ती खेतबारीसहित कलात्मक बनावट निकै आकर्षक रहेको छ । गौरीशङ्कर हिमाललाई जान्न, बुझ्न र अवलोकनका साथै फोटो तथा भिडियो खिच्न यो महत्वपूर्ण बनेको छ ।

    –रासस

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु