आज: २०८३ अषाढ २२, सोमबार | Mon, 06, Jul, 2026

जहाँ इच्छा त्यहाँ उपाय


  • आफ्नै खबर
  • २०८३ अषाढ २२, सोमबार ६ घण्टा अघि
  • ४३ पाठक संख्या
  • दाङ/  अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाउनुभएको छ ।

    पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उहाँलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ । कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको ढोका नढकढक्याई सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागतीखेतीका आधुनिक विधि सिक्नुभयो ।

    त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा तीन सय वटा कागतीका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘मैले युट्युबबाट धेरै कुरा सिकेँ, त्यसबाट आत्मविश्वास बढ्यो र खेती सुरु गर्ने निर्णय गरेँ ।’

    सुरुआती वर्षमा उत्पादन कम भए पनि उहाँ निराश हुनुभएन । बोटको नियमित हेरचाह, सिँचाइ र प्राङ्गारिक मलको प्रयोगलाई निरन्तरता दिनुभयो । त्यसको प्रतिफलस्वरूप गत वर्ष सबै खर्च कटाएर करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल हुनुभयो ।

    यस वर्ष भने बगैँचाका अधिकांश बोट फलले लटरम्म छन् । उत्पादन बढेकाले आम्दानी दुई लाख रुपैयाँसम्म पुग्ने अपेक्षा उहाँको छ । उहाँ थप्नुहुन्छ, ‘गत वर्षभन्दा यसपालि धेरै राम्रो फल लागेको छ । मेहनतको प्रतिफल देखिन थालेको छ ।’

    अहिले उहाँले विभिन्न कृषिसम्बन्धी सङ्घसंस्था र सरकारी निकायबाट पनि प्राविधिक सहयोग लिन थाल्नुभएको छ । झोल मल, गोठे मल र गड्यौला मलको प्रयोग गरेर प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइरहनुभएको छ । यसले उत्पादनको गुणस्तर सुधारिनुका साथै लागत पनि घटेको उहाँको अनुभव छ ।

    सुलोचनाको बुझाइमा अहिले सूचना र प्रविधिको पहुँच गाउँसम्म पुगेको छ । त्यसलाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप सिक्ने माध्यमका रूपमा उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ ।

    उहाँको सफलताले आधुनिक प्रविधिको सही उपयोगले गाउँमै बसेर पनि रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । कुनै समय मनोरञ्जनका लागि चलाइएको मोबाइल आज उहाँका लागि खेतीको गुरु बनेको छ भने कागती बगैँचाले उहाँको जीवनमा आर्थिक आत्मनिर्भरताको नयाँ अध्याय लेखिदिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु