आज: २०८३ अषाढ २३, मंगलबार | Tue, 07, Jul, 2026

कृषि आधुनिकीकरणले बढाएको हौसला


  • आफ्नै खबर
  • २०८३ अषाढ २३, मंगलबार ९ घण्टा अघि
  • ४५ पाठक संख्या
  • भोजपुर/  राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गरिएका विभिन्न अनुदानमुखी कार्यक्रमहरूले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न भूमिका खेलेको छ । सुन्तला, अलैँची तथा तरकारीखेती विस्तारका लागि प्रदान गरिएको अनुदान र प्राविधिक सहयोगले कृषिमा लाग्न किसानलाई थप हौसला मिलेको हो ।

    कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभाअन्तर्गत रहेको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ सञ्चालन गरेको छ । यसअन्तर्गत नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडाहरू समेटिएका छन् । यस्तै, सुन्तलाखेती प्रवर्द्धनका लागि पाँच स्थानीय तहका २६ वडामा ‘सुन्तला जोन’ स्थापना गरिएको छ ।

    जोन प्राविधिक एकाइ भोजपुरका प्रमुख कौसिला विष्टका अनुसार यी कार्यक्रममार्फत किसानलाई अनुदानसँगै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । चालु आवमा मात्र एक सय नौ जना किसानले विभिन्न शीर्षकमा अनुदान सहयोग प्राप्त गरेका छन् ।

    अनुदान कार्यक्रमको प्रभावले किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सुन्तला र अलैँचीखेतीसँगै अन्य बालीमा पनि सहयोग विस्तार गरिँदा किसानहरू व्यावसायिक कृषितर्फ उन्मुख हुँदै गएको देखिन्छ ।

    कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत भोजपुर–५ की सङ्गीता श्रेष्ठले व्यावसायिक तरकारी तथा खुर्सानीखेती गर्दै आउनुभएको छ ।

    यस कार्यक्रमका लागि कार्यालयले चार लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने ५० प्रतिशत लागत साझेदारी किसानकै रहेको छ । सोही कार्यक्रममार्फत पाँचवटा कृषि फर्मलाई चार–चार लाख रुपैयाँका दरले अनुदान सहयोग प्रदान गरिएको छ ।

    त्यसैगरी, भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान हरिप्रसाद प्रधानले कार्यालयबाट प्राप्त सहयोगले कृषिमा लाग्न थप प्रेरणा मिलेको बताउनुभयो । उहाँले चालु आवमा अनुदान सहयोगमा पक्की सिँचाइ पोखरी निर्माण गर्नुका साथै २० रोपनी क्षेत्रफलमा पाँच सय वटा सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरेको जानकारी दिनुभयो ।

    आव २०८२/८३ मा सञ्चालन भएका योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्लास्तरका सरोकारवालाको सहभागितामा अन्तर–निकाय संयुक्त अनुगमनसमेत गरिएको छ ।

    भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको पाइएको बताउनुभयो । कार्यालयबाट अनुदानमा सञ्चालन गरिएका कार्यक्रमले किसानलाई व्यावसायिक बन्न टेवा पुगेको उहाँको भनाइ छ ।

    जिल्ला समन्वय समिति भोजपुरका उपप्रमुख अनिशा खड्काका अनुसार कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भएका कार्यक्रम किसानका लागि लाभदायक सावित भएका छन् । यस्ता कार्यक्रमले किसानको आयआर्जन तथा जीविकोपार्जनमा महत्वपूर्ण टेवा पुगेको उहाँले बताउनुभयो ।

    कार्यालयले चालु आवमा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रममार्फत ५४ जना किसानलाई अनुदान सहयोग प्रदान गरेको छ । साथै सुधारिएको आधुनिक अलैँची भट्टी जडान तथा निर्माण कार्यक्रमअन्तर्गत ३० वटा आधुनिक भट्टी वितरण गरिएको छ ।

    सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ११ वटा कृषि फर्मले अनुदान पाएका छन् । यसअन्तर्गत सिँचाइ पोखरी निर्माण, बिरुवा, पाइप वितरण तथा कृषि यान्त्रिकीकरणमा सहयोग गरिएको छ ।

    यसैगरी, सुन्तला नर्सरी सुदृढीकरण, अलैँची नर्सरी स्रोत केन्द्र स्थापना, नमूना सुन्तला बगैँचा विकास, अलैँची बालीको छहारी व्यवस्थापन, कृषि यान्त्रिकीकरण तथा खाद्यतत्व सहयोग जस्ता कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेका छन् ।

    त्यसमा कृषिजन्य बालीलगायत रैथाने बालीको प्रशोधन, लेबलिङ तथा बजारीकरण सहयोग कार्यक्रम, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास तथा चक्लाबन्दीमा आधारित खेती जस्ता कार्यक्रम पनि रहेका छन् । रैथाने बालीको कार्यक्रमअन्तर्गत रामप्रसादराई–६ मा कोदोको बिस्कुट उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

    चक्लाबन्दीमा आधारित खेती कार्यक्रममार्फत यो आर्थिक वर्षमा एक सय दुई रोपनीमा अलैँचीको क्षेत्र विस्तार गरिएको कार्यालयले जनाएको छ । यो क्षेत्रमा ५५ हजार अलैँचीको बिरुवा रोपन गरिएको छ ।

    यी सबै कार्यक्रमको समग्र प्रभावले जिल्लामा कृषि उत्पादन वृद्धि हुनुका साथै किसानहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुगेको देखिन्छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु