आज: २०८३ अषाढ २५, बिहिबार | Thu, 09, Jul, 2026

महीको प्रवर्द्धनमा नगरपालिकाको योगदान


  • आफ्नै खबर
  • २०८३ अषाढ २५, बिहिबार १0 घण्टा अघि
  • ३६ पाठक संख्या
  • नवलपरासी पूर्व/  गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवर्द्धन गर्दै आएको छ । पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्द्धन गरिएको पालिकाले जनाएको छ ।

    गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बजारमा पाइने पेय पदार्थलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवर्द्धन गरिएको बताउनुभयो ।

    ‘हामीले पालिकाको हरेक कार्यक्रममा सहभागीलाई महीले स्वागत गर्दै आएका छौँ’, उहाँले भन्नुभयो, ‘सार्वजनिक कार्यक्रममा केमिकलयुक्त पेय पदार्थको साटो मही प्रयोग गर्दा स्थानीय किसानलाई समेत लाभ पुग्ने गरेको छ ।’

    पालिकाले महीलाई प्रवर्द्धन गर्ने नीति लिएको भए पनि कार्यपालिका बैठकबाट भने निर्णय गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    ‘महीलाई प्रवर्द्धन गर्न भनेर हामीले सञ्चालन गर्ने सार्वजनिक सुनुवाइ, नगरसभासहितका अन्य सार्वजनिक कार्यक्रममा बहुराष्ट्रिय कम्पनीका पेय पदार्थलाई प्रयोग गरेका छैनौँ’, उहाँले भन्नुभयो, ‘तर, नीतिगत रुपमा भने त्यस्ता पेय पदार्थलाई प्रतिबन्ध गरिएको छैन । व्यवहारमा भने प्रतिबन्धित जस्तै छ ।’

    अघोषित रुपमा गैँडाकोटले बहुराष्ट्रिय कम्पनीको ‘कोल्ड ड्रिङ्क’ निषेध गरेको उहाँले बताउनुभयो । स्थानीय किसानको उत्पादन दही र महीलाई प्रोत्साहन गर्न पालिकाले गर्मीको समयमा महीले पाहुनालाई स्वागत गर्न लागेको लामगादेको भनाइ छ । 

    किसानलाई फाइदा पुगोस् भनेर कार्यक्रममा मही प्रयोग गर्न लागिएको उहाँले बताउनुभयो । ‘गर्मीमा प्रयोग गरिने ‘कोल्ड ड्रिङ्क’ भन्दा दही र मही प्रयोग गर्न सके स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले यसलाई प्रवर्द्धन गरेका हौँ’, उहाँले भन्नुभयो, ‘अब यसलाई नीतिगत रुपमा नै अगाडि बढाउने तयारी गरेका छौँ ।’

    आयुर्वेद चिकित्सक डा. कोपिला अधिकारीले मही सेवनको लागि मिठो हुने मात्र नभई स्वस्थ रहन र कतिपय रोगबाट छुटकारा पाउनका लागी पनि उत्तम मानिने बताउनुभयो । आयुर्वेदमा महीलाई तक्र भनिने उल्लेख गर्दै उहाँले महीमा सक्खर वा मिश्री मिलाएर खानाले रसायनको काम गर्दै शरीरलाई आनन्द दिनुका साथै वात, पित्त निवारण हुने बताउनुभयो ।

    मही सेवन गर्ने तरिकाबारेमा उल्लेख गर्दै डा. अधिकारीले भन्नुभयो, ‘एक गिलास महीमा एक/दुई चिया चम्चा जीरा अथवा मिठा सुपको धुलो मिसाएर पिउँदा यसले स्वास्थ्यलाभ मिल्छ ।’

    वात दोष प्रकुपित भै शरीर दुख्ने, पेट दुख्ने, पेट फुल्ने आदि भएमा अम्ल रस युक्त महीमा चिया चम्चाको एकचौथाइ सुठो एवं सिधे नुन मिलाएर पिउँदा फाइदा पुग्ने उहाँको भनाइ छ ।

    मही सेवन शीतकाल, अग्निमान्ध्य, वात रोग, अरुचि, ग्रहणी, अर्श, फिस्टुला, फिसर, मधुमेह, अतिसार, स्नायुदौर्वल्य आदिमा अमृत समान लाभदायक हुने उहाँले बताउनुभयो । तर, ग्रीष्म ऋतु, दुर्बल व्यक्ति, मुर्छा, भ्रम, दाह तथा रक्तपित्त रोग भएका व्यक्तिले मही सेवन गर्न नहुने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘नियमित रुपमा महीको सेवन गर्नाले शरीरको आमपाचन एवं शोधन भई शरीरमा विषाक्त तत्व जम्मा हुन पाउँदैन । तसर्थ, विविध किसिमका रोगहरूबाट बच्न मद्दत पुर्याउँछ ।’गर्मी महिनामा तयारी जुसहरूको सेवन गर्नुभन्दा मही पिउनु धेरै राम्रो हुने उहाँले बताउनुभयो । महीको गुणस्तरमा भने ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु