आज: २०८३ अषाढ २६, शुक्रबार | Fri, 10, Jul, 2026

बढ्दैछन् शुक्लाफाँटा पुग्ने पर्यटक


  • आफ्नै खबर
  • २०८३ अषाढ २६, शुक्रबार ११ घण्टा अघि
  • ४३ पाठक संख्या
  • कञ्चनपुर/  सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ ।

    चालु आर्थिक वर्षको असारसम्म चार हजार एक सय ९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन हजार सात सय २२ पर्यटकको तुलनामा चार सय ६९ जनाले बढी हो । चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ ।

    निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार चालु आवको असोजदेखि असारसम्म निकुञ्ज भ्रमण गर्नेमा एक हजार ६ सय ५७ महिला र दुई हजार पाँच सय ३४ पुरुष छन् ।

    निकुञ्जमा आन्तरिक पर्यटकको वर्चस्व कायमै छ । कुल पर्यटकमध्ये निकुञ्ज भ्रमण गर्ने तीन हजार ६ सय ९९ नेपाली पर्यटक छन् । जसमा एक हजार ५ सय १३ महिला र दुई हजार १ सय ८६ पुरुष छन् । कुल पर्यटकमध्ये करिब ८८ प्रतिशत हिस्सा नेपाली पर्यटकको रहेको तथ्याङ्कले शुक्लाफाँटा आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको पुष्टि गर्दछ ।

    त्यसैगरी, सार्क राष्ट्रबाट तीन सय ५८ पर्यटक निकुञ्ज पुगेका छन् । तेस्रो मुलुकबाट भने एक सय ५६ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । विदेशी पर्यटकको सङ्ख्या अझै अपेक्षाकृत कम भए पनि पछिल्ला वर्षमा विस्तारै वृद्धि हुँदै गएको छ । गत आवभन्दा चालु आवमा विदेशी पर्यटकको सङ्ख्या २२ ले बढेको छ ।

    चालु आवमा नेपाली तथा सार्क मुलुकका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढे पनि तेस्रो मुलुकका पर्यटकको आगमन अपेक्षाकृत स्थिर देखिएको छ ।  करिब तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिने बाह्रसिङ्गेको सबैभन्दा ठूलो बासस्थानका रूपमा परिचित छ ।

    यहाँ बाह्रसिङ्गेसँगै पाटेबाघ, जङ्गली हात्ती, एकसिङ्गे गैँडा, चितुवा, नीलगाई, जरायो, रतुवा, जङ्गली बँदेल, भालु, स्याल, बँदेललगायतका वन्यजन्तु पाइन्छन् । निकुञ्ज पन्छीप्रेमीका लागि पनि आकर्षक गन्तव्य हो । यहाँ चार सय ५० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन् ।

    निकुञ्जभित्रका विशाल घाँसेमैदान, रानीताल, सिकारी ताल, सलगौडी ताल, बाबा ताल, सालघारी, चौधर नदी क्षेत्र, वन्यजन्तु अवलोकन टावर तथा प्राकृतिक पदमार्ग पर्यटकका मुख्य आकर्षण हुन् । बिहान र साँझको समयमा हात्ती सफारी, जिप सफारी तथा बर्ड वाचिङमार्फत पर्यटकले वन्यजन्तु नजिकबाट अवलोकन गर्ने अवसर पाउँछन् ।

    प्राकृतिक सम्पदा, जैविक विविधता र वन्यजन्तु अवलोकनको अनुपम गन्तव्यका रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापित हुँदै गएको छ । निकुञ्ज प्रशासनले पूर्वाधार विस्तार, प्रचारप्रसार तथा पर्यटकमैत्री सेवामा थप सुधार गर्न सके आगामी वर्षहरूमा विदेशी पर्यटकको आगमन अझै उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु