आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

घटेन मोटरसाइकल चोरी : उपत्यकामा आठ महिनामै अठार सयभन्दा बढी मोटरसाइकल हराए


  • आफ्नै खबर
  • २०८० चैत्र २२, बिहिबार मा प्रकाशित १ साल अघि
  • २५ पाठक संख्या
  • काठमाडौं/  चालू आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट १ हजार ८ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ । तीमध्ये ३ सय ७४ मोटरसाइकल फेला परेका छन् ।

    फेला परेका मोटरसाइकलमध्ये २ सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २४ वटा आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ ।

    प्रहरी नायब महानिरीक्षक ढकालका अनुसार बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा रहेका छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको उहाँले बताउनुभयो । पछिल्लो समय चोरी भएका मोटरसाइकल खोजी र अनुसन्धानमा नेपाल प्रहरी सक्रिय रूपमा लागेको छ ।

    यसैगरी आव ०७९÷८० मा १ हजार ८ सय ५० वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५ सय ५१ मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई ४ सय ९९ वटा सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको जनाएको छ ।

    त्यस्तै, आव ०७८÷७९ मा १ हजार ६ सय चारवटा मोटरसाइकल चोरी भएकामध्ये ५ सय ६ वटा प्रहरीले फेला पारेको थियो । ४ सय ३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको केन्द्रीय प्रहरी प्रवक्ता ढकालले बताउनुभयो । सो अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो ।

    ‘चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारेका छौँ,’ प्रहरी प्रवक्ता ढकालले भन्नुभयो, ‘यसका लागि विशेष योजना र कार्यक्रम तयार गरी सूक्ष्म तरिकाले निगरानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गरी चोरी भएका मोटरसाइकल पत्ता लगाउने र सम्बन्धित धनीलाई बुझाउने काममा सफलता मिलेको छ ।’

    मोटरसाइकल खोज्न ‘भिक्टिम सपोर्ट युनिट’

    चोरी भएका सवारीसाधनको खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मोटरसाइकल चोरी नियन्त्रण गर्ने क्रममा बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानुनी कारबाही गर्न थालेका छौँ ।’

    सवारीधनी नै चनाखो हुनुपर्छ : प्रहरी

    चोरीका मोटरसाइकलको पाटपुर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताउनुभयो । आफ्ना सवारीसाधन चोरी हुन नदिन सम्बन्धित धनी नै चनाखो हुनु बुद्धिमानी हुने उहाँको भनाइ छ ।

    रासस

    केन्द्रीय प्रहरी प्रवक्ता ढकालले भन्नुभयो, ‘चोरी हुनबाट बच्न ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुन्छ । सम्भव भएसम्म जिपिएस ट्रयाकरलगायतका उपकरणको जडान गरेर सुरक्षा गर्न सकिन्छ ।’ धेरैजसो साँझ र रातको समयमा मोटरसाइकल चोरी भएका निवेदन आउने गरेको प्रहरीको भनाइ छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु