१० जेठ २०८२ शनिबार | 24 May 2025 Sat

सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण



  • आफ्नै खबर
  • ५ जेठ २०८२ सोमबार (५ दिन अघि)
  • पाठक संख्या १०४
  • लमजुङ/  नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा मर्स्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ । मर्स्याङ्दी–९ पामचोकका फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरिएको हो ।

    गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै आजदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको घोषणा गर्नुभयो । आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उहाँको भनाइ थियो । 

    यस्ता कार्यले सावित्रालाई प्रेरणा मिल्ने र फुटबल क्षेत्रमा स्थापित उहाँलाई सम्मान गर्न साम्बा चोक नामाकरण गरिएको उहाँले बताउनुभयो । 

    प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सावित्राजस्तो व्यक्तिका नाममा चोकको नामाकरण हुँदा उहाँको योगदानको कदर भएको र जिल्लावासीका लागि पनि गौरवको कुरा भएको बताउनुभयो । उहाँले साम्बाको जीवन अगाडि बढाउन सशस्त्र प्रहरीले पनि केही भूमिका खेलको बताउनुभयो । 

    यस्तै, साम्बाका बुबा थमनबहादुर भण्डारीले आफ्नो छोरीको नाममा चोकको नामाकरण हुँदा धेरै खुसी लागेको बताउनुभयो । फुटबल क्षेत्रमा योगदान गर्दै नेपाललाई नै चिनाउने काम गरिरहेकी र यस्ता सम्मान कार्यले छोरीलाई अझै अगाडि बढाउन हौसला मिल्ने उहाँको भनाइ थियो । 

    अन्नपूर्ण पदमार्ग अन्नपूर्ण मनाङ जाने सडकमा अवस्थित मर्स्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उहाँको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने सोही वडाका वडाध्यक्ष हरिश्चन्द्र थापाले बताउनुभयो ।

    सावित्रा नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छिन् । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बा हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक गोलकर्ता हुन् । सावित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुन् । 

    उनी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मर्स्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन् । 

    –रासस