आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

सुरु भयो ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना


  • आफ्नै खबर
  • २०८३ बैशाख १४, सोमबार १ महिना अघि
  • ११० पाठक संख्या
  • म्याग्दी/  धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

    हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युतगृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो ।

    बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युतगृहबाट निस्कने पानी फाल्न एक हजार एक सय ३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिनुभयो ।

    ‘बगर–तातोपानी खण्डको भीरमा सडक निर्माण नसकिँदासम्म म्याग्दी नदीको किनारै किनार डाइभर्सन बनाएर बाँध निर्माण स्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग पुर्याएका छौँ’, उहाँले भन्नुभयो, ‘टेलरेस टनेल खन्न थालेको सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले विद्युतगृह, बाँध र मुख्य सुरुङ खन्ने तयारी गरेको छ ।’

    म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट ७५ मिटर लामो र ११.९ मिटर अग्लो बालुवा थिग्राउने पोखरी ‘डिसेन्डर’ मा सङ्कलन गरी सात सय १० मिटर लामो ‘पाइपलाइन’ बाट ल्याइने पानीलाई तीन हजार ६ सय मिटर लामो सुरुङमा हालिनेछ ।

    पुनः सात सय ५० मिटर पाइपलाइनबाट ल्याइने पानीलाई ६ सय सात मिटर उचाइबाट पहाडभित्र रहने भूमिगत विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने पौडेलले जानकारी दिनुभयो ।

    ‘रन अफ रिभर’ प्रकृतिको आयोजनामा दुई सय नौ मिटर ठाडो सुरुङ, दुई सय ३० मिटर ‘प्रेसर टनेल’, पाँच सय ८७ मिटर ‘इन्कलाइन्ट टनेल’ र सात सय ५७ मिटर ‘पेनस्टक पाइप’का संरचना रहनेछन् । विद्युतगृहमा तीन वटा ‘टर्वाइन’ रहनेछन् । 

    आयोजनाबाट प्रतिघण्टा सुक्खायाममा एक सय १७.८२ र बर्खायाममा दुई सय ६४.४५ गिगावाट विद्युत् उत्पादन हुनेछ ।

    बगर र तातोपानीको बीचमा रहेको पहाडमा बाहिरी भागबाट ६ सय ४० मिटर लामो सुरुङ खनेर त्यसभित्र भूमिगत विद्युतगृह बनाउन लागिएको हो ।

    बगरदेखि १६.५ किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनबाट केन्द्रीय प्रणालीमा विद्युत् पठाउनका लागि १३२ केभी क्षमताको ‘डबल र मल्टीसर्किट’ प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताउनुभयो ।

    प्रतिमेगावाट २० करोड रुपैयाँका दरले १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिभिल ठेकेदार गत पुस महिनादेखि परिचालन भएको हो भने इलेक्ट्रोमेकानिक र हाइड्रोमेकानिकल ठेकेदार छनोटको चरणमा रहेको आयोजना व्यवस्थापक प्रमेश थापाले बताउनुभयो ।

    केही दिनमा भैँसीखर्कमा नेपाली सेनाको ‘क्याम्प’ (आधार शिविर) राख्ने तयारी भएको छ । विस्फोटक पदार्थको सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राखेपछि मुख्य सुरुङ खन्ने तयारी गरिएको हो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु