आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

वैदेशिक रोजगारी भन्दा बाख्रापालन ठिक !


  • आफ्नै खबर
  • २०८३ बैशाख २०, आईतबार १ महिना अघि
  • ८१ पाठक संख्या
  • रामेछाप/  मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । चार वर्ष बेलायत तथा ११ वर्ष दुबई र कतारमा रोजगारीमा गर्नुभएकी उहाँलाई अरूको मात्र काम गरिरहनु भन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन थाल्नु भएको हो ।

    उहाँले भन्नुभयो, ‘अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ ।’ बाख्रापालनका लागि उहाँले गाउँमा करिब २० लाख रुपैयाँ खर्च गरेर आधुनिक खोर निर्माण गर्नुभएको छ । बाख्रापालन मात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाउनुभयो ।

    २०८१ सालमा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताउनुभयो । उहाँले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वास्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहनुभएको छ ।

    उहाँका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन् । हामी श्रीमानश्रीमती पनि काठमाडौँमा बस्छौँ । कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ । वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।’

    गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्केको छ । तर पनि उहाँ निरन्तर बाख्रापालन खटिनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन । हेरौँ कति सफल भइन्छ ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु