आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

बढ्दैछ हिमाल आरोहणको मोह


  • २०८३ बैशाख २५, शुक्रबार ३ हफ्ता अघि
  • ७५ पाठक संख्या
  • काठमाडौँ/  वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरूको लागि हिमाल आरोहण गर्ने समय । कतिपय नयाँ आरोहीहरू आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका किर्तिमान तोड्दै नयाँ कीर्तिमान राख्न आतुर देखिन्छन् ।

    नेपाल पर्यटन बोर्डले ६ हजार पाँच सय मिटरभन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले भने पाँच हजार आठ सयदेखि ६ हजार पाँच सय मिटर उचाइका २७ हिमालमा आरोहण अनुमति दिँदै आएको छ ।

    यसपटक सेभेन समिट ट्रेक्सबाट मात्र ८५ जनाले सगरमाथा आरोहण गर्दैछन् । सगरमाथा आरोहणका लागि चार सय ६४ जनाले अनुमति लिएकोमा सेभेन समिटबाट मात्र ८५ जना रहेको यसका सञ्चालक मिङ्मा शेर्पा बताउनुहुन्छ ।

    सेभेन समिटले लामो समयदेखि विभिन्न देशका आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएको छ । यसबाहेक इलाइट एक्सपिडिसन, ट्याग नेपाल, इम्याजिङ नेपाल एक्सपिडिसन, हिमालयन गाइड एक्सपिडिसन, एटके एक्सपिडिसनलगायतले विदेशी आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएका छन् ।

    प्राकृतिक सम्पदाले धनी देश नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ । विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल रहेकोमा नेपालमा मात्र आठ वटा पर्दछन् । हिमालैहिमालको देश नेपालमा हिमाल चढ्नकै लागि पनि बर्सेनि हजारौँ आरोही आउने गरेका छन् । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न एक हजार ७२ आरोहीले अनुमति लिएका छन् । 

    पर्यटन विभागका अनुसार वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् २०२६ को मार्च १ देखि आजसम्म ७९ देशका एक हजार ७२ आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेमा आठ सय ११ पुरुष र दुई सय ६१ महिला रहेका छन् । हिमाल आरोहण अनुमति लिने सङ्ख्या अझै थपिनसक्ने विभागले जनाएको छ ।

    गत वर्ष वसन्त ऋतुमा हिमाल आरोहणका लागि एक हजार एक सय ४० जना आरोहीले आरोहण अनुमति लिएका थिए । उक्त आरोहण अनुमति दिएबापत नेपालले ७९ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस्तै सन् २०२४ मा नौ सय ९१ जनाले हिमाल आरोहण अनुमति लिएका थिए ।

    नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव राजेन्द्र लामा कोरोना महामारीपछि नेपालको हिमाल आरोहणका लागि विदेशी आरोहीको आकर्षण बढेको बताउनुहुन्छ । एनएमएले अनुमति प्रदान गर्ने २७ हिमाल आरोहणका लागि पनि विदेशी आरोहीको हुटहुटी बढेको उहाँको भनाइ छ ।

    महासचिव लामाका अनुसार सङ्घले सन् २०२४ को जुलाईदेखि २०२५ को जुलाईसम्म दुई हजार दुई सय चार परमिट जारी गरेको छ । जसबाट एनएमएले १६ करोड रुपैयाँ हाराहारीमा राजस्व सङ्कलन गरेको छ । यस्तै, सन् २०२५ को जुलाईदेखि हालसम्म दुई हजार २५ जनालाई परमिट जारी गरेको छ । उक्त परमिट जारी गरेबापत एनएमएले २० करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    यस वर्ष वसन्त ऋतुका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको छ । सगरमाथा आरोहणका लागि मात्र हालसम्म ५५ देशका चार सय ६४ आरोहीले अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिनुभयो । सगरमाथा आरोहणका लागि अनुमति लिनेमा तीन सय ६४ पुरुष र एक सय महिला रहेका छन् ।

    विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी चिनीयाँ आरोही रहेका छन् । चीनबाट मात्र एक सय ३९ जना आरोहीले आरोहण अनुमति लिएको निर्देशक राउतले बताउनुभयो ।

    यसबाहेक, अमेरिकाबाट एक सय ३२, भारतबाट पाँच, बेलायतबाट ७२, जर्मनीबाट ६९, रुसबाट ६, क्यानडाबाट ३९, जापानबाट ३५, फ्रान्सबाट २६, अष्ट्रेलिया २४ र युक्रेनबाट २३ जनाले अनुमति लिएका छन् ।

    त्यस्तै, पोल्याण्डबाट ३१, नेपालबाट १७, अर्जेन्टिनाबाट १३, आयरल्याण्डबाट १४, चेक रिपब्लिकबाट १७, इक्वेडरबाट १०, ब्राजिलबाट नौ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

    सरकारले सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २९ हिमाल तथा चुली आरोहणका लागि अनुमति दिएको छ । विभागका निर्देशक राउतका अनुसार सगरमाथाका लागि चार सय ६४, ल्होत्से एक सय ११, आमादब्लम एक सय चार, अन्नपूर्ण चौथो १३, धौलागिरी ३०, सरीबुङ १८, अन्नपूर्ण १ का लागि २७, थोराङ पिक १४, मकालु ७२, नुप्से ५२, हिमलुङ हिमाल ४६, कञ्चनजङ्गा ३६ र बरुण हिमाल आरोहण गर्न १२ जनाले अनुमति लिएका छन् ।

    पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्रमा प्रभाव परेको भए पनि हिमाल आरोहणका लागि भने उत्साहजनक सहभागिता देखिएको छ ।

    यस वर्षको हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट विभागले एक अर्ब १७ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले सबैभन्दा धेरै सगरमाथाबाट एक अर्ब एक करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    यस्तै, ल्होत्सेबाट चार करोड ९७ लाख ७१ हजार रुपैयाँ, मकालुबाट तीन करोड १७ लाख ८५ हजार रुपैयाँ, आम दब्लमबाट एक करोड ५५ लाख ४५ हजार रुपैयाँ, धौलागिरी–१ बाट एक करोड ३४ लाख ५४ हजार रुपैयाँ, अन्नपूर्ण–१ बाट एक करोड २० लाख ४९ हजार रुपैयाँ, कञ्चनजङ्गाबाट एक करोड ६० लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    विभिन्न हिमाल आरोहणका लागि आरोहीहरु गन्तव्यतर्फ लाग्ने क्रम सुरु भएको छ । कतिपय आरोही भने हाल सगरमाथा आधार शिविरमा पुगिसकेका छन् । सगरमाथा आरोहणका लागि अहिले डोरी टाँग्ने काम भइरहेको छ ।

    सगरमाथा आरोहणलाई सहज बनाउनका लागि अहिले सगरमाथा प्रदूषण नियन्त्रण समितिले बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्म डोरी टाँग्ने काम गरिरहेको छ । समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा सगरमाथा बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्मको बाटो बनाउने काम सम्पन्न भइसकेको बताउनुहुन्छ ।

    यस्तै, क्याम्प दुईदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम भने पर्वतारोहण सञ्चालक सङ्घ नेपालले गर्दै आएको छ । सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुली अहिले क्याम्प–३ सम्म डोरी टाँग्ने काम सम्पन्न भइसकेको बताउनुहुन्छ ।
    अध्यक्ष पराजुलीले भन्नुभयो, ‘मौसमका कारण क्याम्प तीनदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्नका लागि समस्या भइरहेको छ ।’

    मौसम राम्रो भएमा अबको चार/पाँच दिनमा सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम सकिने उहाँको भनाइ छ । मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सगरमाथा आरोहणका लागि बाटो बनाउने र डोरी टाँग्ने काम केही ढिला भएको उहाँको भनाइ छ । अझै क्याम्प–४ हुँदै सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम बाँकी नै रहेको अध्यक्ष पराजुली बताउनुहुन्छ ।

    हिमाल आरोहणका लागि आएका आरोही र पदयात्रीको स्वास्थ्य जाँचका लागि हिमालयन उद्धार सङ्घले सगरमाथा आधार शिविर र फेरिचेमा चिकित्सकको टोली खटाइसकेको छ ।

    हिमालय उद्धार सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्याल हिमाल आरोहण गर्न जाने आरोही र तीनका सहयोगीको स्वास्थ्यजाँचका लागि तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सगरमाथा क्षेत्रमा परिचालन गरिसकेको बताउनुहुन्छ ।

    आरोहीको स्वास्थ्य जाँचका लागि सगरमाथा आधार शिविरमा अष्ट्रेलियाली चिकित्सक सामन्था एलिसन विल्स, नेपाली चिकित्सक प्रिन्स सिंह र सहयोगीका रुपमा लाक्पा नोर्बु शेर्पा खटिएका छन् ।

    यस्तै फेरिचे स्वास्थ्यचौकीमा अष्ट्रेलियाली चिकित्सक रेबेका एलेन कारपेन्टर, अमेरिकाका डा. केटलिन ब्रुक हार्पर, नेपाली चिकित्सक आकृति सिंह र सहयोगीका रुपमा आङ दावा शेर्पा र थानेश्वर भण्डारी खटिनुभएको सिइओ बस्याल बताउनुहुन्छ ।

    -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु