इलाम/ माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाउनुभएको छ । विगत तीन वर्षदेखि अलैँचीखेती सुरु गर्नुभएका उहाँले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गर्नुभएको हो ।
अलैँची बेचेर उहाँले वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । यस वर्ष मात्र उहाँले अलैँची बेचेर १७ लाख रुपैयाँ हात पार्नुभयो । प्रतिमन (४० किलो) को एक लाख रुपैयाँका दरले अलैँची बेचेको उहाँले बताउनुभयो ।
‘यो वर्ष अलैँचीको उत्पादन राम्रै थियो । भाउ पनि राम्रो पाइयो’, उहाँले भन्नुभयो, ‘घरैबाट प्रतिमन एक लाख रुपैयाँका दरले सुक्खा अलैँची बिक्री गरेर १७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएँ ।’
उहाँले जिर्मले जातको अलैँचीखेती गर्दै आउनुभएको छ । पछिल्लो वर्ष व्यावसायिक अलैँचीखेतीमा लाग्नुभएका उहाँले अलैँचीको बजार राम्रो भएकाले विदेश जान छाडेर व्यावसायिक अलैँचीखेतीमा जुटेको बताउनुभयो ।
माङसेबुङ–२ का अर्का किसान गणेश लिम्बूले पनि यस वर्ष अलैँची बिक्रीबाट १६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि अलैँचीखेती गर्दै आउनुभएका लिम्बूले २५ रोपनी क्षेत्रफलको खेत मासेर अलैँचीखेती गर्दै आउनुभएको छ ।
‘मैले विगत पाँच वर्षदेखि धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै आएको छु । यसपटक त भाउ पनि राम्रै आएकाले राम्रो आम्दानी गर्न सफल भएँ’, उहाँले भन्नुभयो, ‘यो वर्ष थप सात रोपनी क्षेत्रफलमा अलैँचीखेती विस्तार गर्ने तयारी गरिरहेको छु ।’
अलैँची बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्च साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो परिवारको घरखर्च र छोराछोरीको पढाइखर्च यही अलैँचीखेतीले धानेको छ ।’
उहाँले रामशाही र गोलशाही जातको अलैँचीखेती गर्दै आउनुभएको छ । पछिल्लो समय अलैँचीमा रोग नलाग्ने र राम्रो मूल्यमा बिक्री हुन थालेपछि किसानहरू अलैँचीखेतीमा आकर्षित भएका हुन् ।
अलैँचीखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेको छ । किसानहरूले व्यावसायिक रूपमा अलैँचीखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् ।
अलैँचीको मूल्य बढेसँगै किसानले धान र अन्य खेती छाडेर पनि अलैँचीखेतीलाई बढाएका छन् । अरु खेतीको दाँजोमा अलैँचीखेतीले नाफा बढी हुने भएकाले पनि यो खेतीमा किसानको उत्साह बढेको हो । यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र खेती गरिने अलैँचीलाई पछिल्लो सयम किसानले अन्य अन्न बाली छाडेर खेत र करेसाबारीमा रोप्न थालेका छन् ।
परम्परागत शैलीको अलैँचीखेतीबाट आधुनिकीकरणसमेत हुन थालेपछि उत्पादन र आम्दानीमा समेत वृद्धि हुन थालेको माङसेबुङ–३ चिबुवाका किसान इन्द्रबहादुर लिम्बूको अनुभव छ ।
‘गत वर्षदेखि उकालो लागेको अलैँचीको भाउले एक लाख रुपैयाँ नाघ्यो । मूल्य बढेपछि व्यापारीहरूको पनि खोसाखोस हुँदोरहेछ’, उहाँले भन्नुभयो, ‘बिक्रीका लागि समेत समस्या परेन ।’ उहाँले बर्सेनि १५ मन अलैँची बिक्री गरेर लाखौँ आम्दानी गरिरहेको सुनाउनुभयो । अलैँचीखेतीबाट मनग्ये आम्दानी लिन सफल भएपछि आफू अलैँचीखेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।
माङसेबुङ गाउँपालिका वडा नं. १, २, ३ र ६ का विभिन्न क्षेत्रका किसानले व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका छन् ।
पहाडी भेगका गाउँमा अलैँचीखेती किसानहरू बढ्दै गएका छन् । खेर गइरहेको, अन्नबाली राम्ररी नफस्टाउने, पानी बगिरहने, बढी चिस्यान, सेपिलो, ओसिलो, छायाँ पर्ने, भिरालो, कम गहिरो माटो भएको, कमसल जग्गामा समेत अलैँचीखेती गर्न सकिने भएकाले किसानहरू अलैँचीखेतीतर्फ आकर्षित भएका हुन् ।
उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर अलैँची रोपेका छन् । सामान्य अलैँचीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रूपमा अलैँचीखेती सुरु गर्न थालेका छन् । उत्पादन र मूल्य राम्रो हुँदै गएकाले किसानहरू अलैँचीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् ।
कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक अलैँचीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक अलैँचीखेती सुरु गरेका छन् ।
बाँझो रहेका पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक रूपमा अलैँचीखेती सुरु गरेका हुन् । उनीहरूले खेतीयोग्य जमिन मासेर व्यावसायिक अलैँचीखेती गर्दै आएका हुन् । यहाँका किसानले रामशाही, गोलशाही, जिर्तले, भर्लाङ्गेलगायत जातका अलैँचीखेती गर्दै आएका छन् ।
अलैँची एक सदावहार बाली हो । यसले एकपटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिइरहन्छ । यसको बोट एकदेखि २.५ मिटरसम्म अग्लो हुन्छ । यसको मध्यम खालको झाङ हुन्छ । अलैँचीका वानस्पतिक भागलाई जरा, लाँक्रा, पात, थुङ्गा, फल र दाना गरी छ भागमा विभाजन गरिएको हुन्छ ।
भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँचीखेती समुद्र सतहदेखि ६ सय मिटरदेखि दुई हजार एक सय मिटर उचाइसम्ममा गर्न सकिन्छ । यसका लागि उपयुक्त तापक्रम १० देखि ३० डिग्री सेल्सियस हुने पहाडी क्षेत्र मानिन्छ ।
अलैँचीका लागि बढी आर्द्रता भएमा राम्रो मानिन्छ । वर्षा जति भयो त्यति राम्रो मानिन्छ । सिँचाइभन्दा वर्षाको पानी राम्रो मानिन्छ । तर फेदमा पानी जम्न दिनु भने हुँदैन । वार्षिक सरदर वर्षा दुई हजारदेखि दुई हजार पाँच सय मिलिमिटर हुने स्थानमा यसको व्यावसायिक खेती गरिन्छ । यसले बढी हुरीबतास र तुसारो एवं हिउँ सहन सक्दैन ।
अलैँची विशेषगरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँचीमा थुप्रै औषधीय गुणहरू पाइने विज्ञहरूको भनाइ छ ।
अलैँचीलाई मुखमा राखेर चुस्नाले स्वरलाई ठिक बनाउने र टन्सिलजस्ता रोगलाई ठिक पार्ने, अलैँचीलाई पानीमा राखेर उमाली चियाजस्तो बनाएर खानाले स्वस्थ हुने र मस्तिष्कलाई शान्त बनाउने, कलेजो र हृदयमा बल प्रदान गर्ने, अलैँचीको बोक्राको धुलो बनाइ दूध वा पानीसँग नियमित सेवन गर्नाले पाचनप्रणाली र रक्तक्रियालाई व्यवस्थित गरी मिर्गौलाका सम्पूर्ण रोगहरूलाई समाधान गर्ने विज्ञहरूको भनाइ छ ।
अलैँची किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजै रूपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले अलैँची किन्ने गरेका छन् । घरैबाट व्यपारीले किन्ने गरेकाले किसानलाई बजारसम्म पुर्याउने झन्झटसमेत छैन ।
यातायातको सुविधा विस्तार भएसँगै किसानले अलैँचीको मूल्यसमेत राम्रै पाउने गरेको माङसेबुङ–२ किसान कैलाशकुमार राईले बताउनुभयो ।
‘हामीले उत्पादन गरेको अलैँची बिक्रीका लागि कुनै समस्या छैन । व्यापारीहरू घरघरमा नै आउने गरेका छन्’, उहाँले भन्नुभयो, ‘यातायातको सुविधा विस्तार भएपछि किन्नका लागि व्यापारीलाई मात्र होइन, बेच्नका लागि हामी किसानलाई समेत सहज भएको छ ।’
व्यावसायिक अलैँचीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदानमा अलैँचीको बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेपछि व्यावसायिक अलैँचीखेती विस्तारमा किसान आकर्षित भएका छन् ।
अलैँची उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले अलैँचीखेती किसानलाई ५० प्रतिशत लागत साझेदारीमा अलैँचीको बिरुवा वितरण गर्दै आएको माङसेबुङ गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रतिक सुनुवारले बताउनुभयो ।
माङसेबुङले यस वर्ष पनि किसानलाई १६ हजारवटा अलैँचीको बिरुवा वितरण गरेको छ । रामशाही र गोलशाही जातका १४ हजार भर्लाङ्गे जातका दुई हजार बिरुवा वितरण गरिएको कृषि विकास शाखा प्रमुख सुनुवारले जानकारी दिनुभयो ।
‘माङसेबुङ गाउँपालिकाको तर्फबाट यस वर्ष ५० प्रतिशत लागत साझेदारीमा किसानलाई १६ हजार अलैँचीका बिरुवा वितरण गरेका छौँ’, सुनुवारले भन्नुभयो, ‘मागका आधारमा एकजना किसानले एक हजारदेखि चार हजार दुई सय वटासम्म अलैँचीका बिरुवा पाएका छन् ।’
कतिपय किसानले व्यक्तिगत रूपमा र कतिपय किसानले सहकारी संस्था र कृषक समूहमार्फत अलैँचीखेती गर्दै आएको उहाँले बताउनुभयो । अलैँचीको बिरुवा वितरणका लागि गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।
‘कृषि क्षेत्रमा प्रशस्त सम्भावना रहेको माङसेबुङमा कृषि क्षेत्रलाई नै प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएका छौँ’, अध्यक्ष राईले भन्नुभयो, ‘किसानलाई प्रोत्साहन गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालनमा छन् । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिनेछौँ ।’
–रासस
प्रतिक्रिया दिनुहोस