
काठमाडौँ/ काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका काम थाल्न निर्देशन दिनुभएको छ ।
थापाथलीस्थित बागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उपप्रमुख डङ्गोलले खाली गराइएको र अब गराइने ठाउँको संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न निर्देशन दिनुभएको हो ।
कार्यवाहक प्रमुख डङ्गोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गर्नुभएको थियो । वडा नं. ११ का अध्यक्ष एवं कामपाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर तीन सय ३२ वटा घरटहरा थिए । यसमध्ये थापाथलीतर्फका एक सय ३६ घरटहरा भत्काइएका छन् ।
वागमती नदी खण्डको सिनामङ्गलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्तीअन्तर्गत वडा नं. ९ तर्फ एक सय ६२ घरधुरी र वडा नं. ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर)मा चार सय ७६ घरटहरा थिए । यी मध्ये वैशाख १२ गते वडा नं. ९ तर्फका घरटहरा खाली गराइयो ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदनअनुसार उपत्यकाका नदी किनारमा तीन हजार चार सय ९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।
समितिको प्रतिवेदनले, काठमाडौँ महानगरभित्र दुई हजार दुई सय ४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा एक सय ५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा सात सय ७३ अव्यवस्थित बसोबासी रहेको देखाएको छ ।
तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौँ उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस