आज: २०८३ जेष्ठ २५, सोमबार | Mon, 08, Jun, 2026

टुटेको सपनामा मेहनतको मल्हम


  • आफ्नै खबर
  • २०८३ जेष्ठ २५, सोमबार ८ घण्टा अघि
  • ५१ पाठक संख्या
  • म्याग्दी/  मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूधदही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उहाँको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर लैजान्छन् ।

    आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित ५१ वर्षीय पौडेलले दुई दशकअघि भने वैदेशिक रोजगारीको सपना पछ्याउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो । २०६३ मा अफगानिस्तान जान दलाललाई ऋण खोजेर दिएको तीन लाख रुपैयाँ डुब्यो । उहाँको विदेश जाने सपना पनि अधुरै रह्यो ।

    ‘पैसा फस्यो, विदेश जाने सपना पनि टुट्यो’, उहाँ सम्झिनुहुन्छ, ‘त्यसपछि वैदेशिक रोजगारीको सोच त्यागेर भैँसीपालन र तरकारीखेती सुरु गरेँ ।’

    ऋणको भारी र परिवारको जिम्मेवारीका बीच दुईवटा भैँसीबाट सुरु गरेको व्यवसाय हाल व्यवस्थित फार्मको रूप विकास भएको छ । हाल पौडेलको गोठमा आठवटा भैँसी छन् । परिवारका दुई सदस्यसँगै एक जनालाई नियमित रोजगारी दिनुभएको छ ।

    २०७३ सालमा ‘पौडेल भैँसीपालन फर्म’ स्थापना गरेर सुरु गरिएको व्यवसाय हाल जिल्लाकै सफल उद्यमका रूपमा चिनिन थालेको छ । पौडेलले दुई रोपनी क्षेत्रफलमा तरकारीखेती पनि गरिरहनुभएको छ । भैँसीपालन र तरकारीखेती एकअर्काका पूरक जस्तै भएकाले यसतर्फ लागेको उहाँको भनाइ छ ।

    पौडेलले भन्नुभयो, ‘गोठबाट निस्कने मल बारीमा प्रयोग हुन्छ भने तरकारीबाट अतिरिक्त आम्दानी भइरहेको छ । तरकारीसँगै खेरजाने पातपतिङ्गर भैँसीको आहारमा पनि प्रयोग हुन्छ । यसले दुवै व्यवसाय सँगसँगै अगाडि बढाउन सहज भएको छ ।’

    हाल उहाँको फार्ममा दैनिक ५० देखि ६० लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये करिब ४० लिटर दूधबाट दही बनाइन्छ भने बाँकी दूध नियमित ग्राहकलाई बिक्री गरिन्छ ।

    ‘दिउँसो १२–१ बजेसम्म दही सकिन्छ । माग धेरै छ, धान्न गाह्रो भइरहेको छ । काठको ठेकीमा जमाइएको दहीको शुद्धता र परम्परागत स्वादले उपभोक्ताको मन जितेको छ’, पौडेल भन्नुहुन्छ, ‘एकपटक स्वाद लिएका ग्राहक फेरि फर्केर आउने गरेका छन् । बजारीकरणका लागि प्रचारप्रसार पनि गर्नुपरेको छैन ।’

    उहाँ ग्राहकको मन जितेमा सफलताका लागि अर्को कुनै उपाय गर्नुनपर्ने बताउनुहुन्छ । ‘ठूलो विज्ञापन केही गरिएको छैन’, पौडेलले भन्नुभयो, ‘ग्राहकको सन्तुष्टि र सकारात्मक प्रतिक्रियाले नै व्यवसाय विस्तार भएको हो ।’

    बेनी–दरबाङ–मुना–ढोरपाटन सडकमा यात्रा गर्ने यात्रुहरू उहाँका मुख्य ग्राहक हुन् । पहिले दूध बिक्रीका लागि घरघर पुग्नुपर्ने अवस्था रहे पनि अहिले ग्राहक आफैँ फार्मसम्म पुग्ने गरेका छन् ।

    दूध, दही र तरकारी बिक्रीबाट मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत हुने गरेको पौडेल बताउनुहुन्छ । यही आम्दानीबाट वैदेशिक रोजगारीका लागि लिएको ऋण तिर्नुका साथै चार सन्तानलाई स्नातक तहसम्म अध्ययन गराएको उहाँले जानकारी दिनुभयो । 

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गाउँपालिकाको प्राविधिक सहयोगले व्यवसाय विस्तार गर्न सहज भएको उहाँको भनाइ छ । पशुमा रोग लाग्ने जोखिम र बाँदरले तरकारीखेतीमा पुर्याउने क्षति भने अझै चुनौतीका रूपमा रहेका छन् ।

    विदेश जाने सपना अधुरै रहे पनि पौडेलले त्यसलाई निराशाको कारण बन्न दिनुभएन । बरु त्यही असफलतालाई अवसरमा रूपान्तरण गर्दै स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सफल हुनुभयो ।

    ‘सपना विदेशमै खोज्नुपर्छ भन्ने छैन’, उहाँ भन्नुहुन्छ, ‘मेहनत र धैर्य भए आफ्नै गाउँको गोठबाट पनि सफलता हासिल गर्न सकिन्छ ।’

    एकाउन्न वर्षीय पौडेलको कथा सङ्घर्ष, धैर्य र स्वदेशमै सम्भावना खोज्ने प्रेरणादायी उदाहरण बनेको छ । मङ्गला गाउँपालिका–५ गहतेका खिमलाल आचार्य पौडेलको सफलताले अन्यलाई पनि स्वदेशमै काम गर्न प्रेरणा मिलिरहेको बताउनुहुन्छ ।

    स्थानीय फडिन्द्र शर्मा पनि पनि धैर्यता र लगन भएमा एउटा बाटो रोकिए पनि अन्य थुप्रै अवसर खुल्छ भन्ने उदाहरणका रूपमा पौडेललाई लिने गरिएको बताउनुहुन्छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु