आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

हिमाल चढ्न कम्मर कस्नेको सङ्ख्या ११८१ पुग्यो


  • आफ्नै खबर
  • २०८३ जेष्ठ ५, मंगलबार २ हफ्ता अघि
  • ६२ पाठक संख्या
  • काठमाडौँ/  यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार एक सय ८१ आरोहीले अनुमति लिएका छन् ।

    विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका चार सय ९४ आरोहीले अनुमति लिएका छन् ।

    सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै एक सय नौ जना चिनियाँ नागरिकले अनुमति लिएका छन् । यसबाहेक सगरमाथाकै लागि अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२, ब्राजिलका १० जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताउनुभयो ।

    यसबाहेक, ल्होत्सेका लागि एक सय ४३, आमादब्लमका लागि एक सय ११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजङ्घाका लागि ३६, धवलागिरिका लागि ३० जनाले अनुमति लिएका छन् । यसबाहेक अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन् ।

    पर्यटन विभागले ६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ । पाँच हजार आठ सयदेखि ६ हजार पाँच सय मिटरसम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले दिने गरेको छ ।

    विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले सबैभन्दा बढि सगरमाथाबाट एक अर्ब सात करोड ८६ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    त्यसबाहेक, ल्होत्सेबाट ६ करोड ३६ लाख , आमादब्लमबाट एक करोड ६६ लाख , कञ्चनजङ्घाबाट एक करोड ६० लाख ८१ हजार, धवलागिरि प्रथमबाट एक करोड ३४ लाख ५४ हजार, अन्नपूर्ण प्रथमबाट एक करोड २० लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    विभिन्न हिमाल आरोहण सुरु भइसकेकामा सगरमाथाको आरोहण भने यही वैशाख ३१ गतेबाट सुरु भएको छ । डोरी टाँग्ने र बाटो बनाउने काम सम्पन्न भएसँगै आरोहीहरूले आरोहण गर्ने क्रम जारी छ । पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालगायत नेपालका हिमालमा आरोहणमा विदेशीहरूको आकर्षण बढेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु