आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

नौ जनाले चढे धौलागिरि


  • २०८३ बैशाख ६, आईतबार १ महिना अघि
  • ९० पाठक संख्या
  • म्याग्दी/  धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार एक सय ६७ मिटर छ ।

    इम्याजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् ।

    चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विट्जरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका इम्याजिन नेपालले जनाएको छ ।

    शनिबार दिउँसो ११ः४० बजे धौलागिरिको चुचुरोमा पुुगेको आरोहण टोली सकुशल रुपमा तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्व गरेका फुुर ग्याल्जेन शेर्पाले बताउनुभयो । शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन् ।

    पर्यटन विभागका अनुसार वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट एक करोड २५ लाख ६१ हजार रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताउनुभयो । गत शरदयाममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए ।

    छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु