
लमजुङ/ दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ ।
परम्परागत रुपमा सजिएका गाउँको प्राचीन मौलिकता झल्काउने किसिमका घरसँगै सफा चोक तथा बाटाहरू ढुङ्गाले छपक्क छापिएका छन् । पर्यटकीय राजधानी पोखराबाट डुम्रे, मध्यनेपाल, भोर्लेटार, सुन्दरबजार, भोटे ओडार हुँदै बेलघारी पुल तरेर लामाबगर, थापा खेत हुँदै आइपुगिने यो गाउँ पोखराबाट करिब चार घण्टामा पुग्न सकिन्छ ।
विशेषतः बौद्ध धर्मावलम्बीहरूका दुईवटा गुम्बासँगै चारवटा छोर्तेनले यहाँको महिमा र गरिमालाई अझै उँचो बनाएको म्हाँजा नासो तमु समाजका अध्यक्ष इन्द्रजित गुरुङले बताउनुभयो । गाउँको प्राकृतिक सुन्दरतासँगै यहाँको ऐतिहासिक एवं धार्मिक महत्वलाई पर्यटनसँग जोड्नका लागि पछिल्लो समयमा आफूहरूले पहल थालेको उहाँले बताउनुभयो ।
गाउँ पर्यटनका माध्यमबाट समृद्धि खोज्नकै लागि यहाँका १२ वटा घरमा घरवास समेत सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो ।
‘हामीले २०७६ सालमा पहिलोपटक गाउँमा सातवटा घरबाट घरवास सुरु गरेका हौँ’, उहाँले भन्नुभयो, ‘हाल यहाँका १२ वटा घरमा घरवास सञ्चालन भइरहेको छ । पर्यटकको आगमन पनि विस्तारै बढ्दै गएको छ ।’
पर्यटकको आगमन भएका अवस्थामा हरेक दिन ६० जनासम्म पर्यटक राख्न सकिने उहाँले जानकारी दिनुभयो । पर्यटकीय रुपमा धेरै सम्भावना भएर पनि ओझेलमा परिरहेको यस गाउँको पर्यटकीय विकासका माध्यमबाट पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको दोर्दी गाउँपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताउनुभयो ।
गाउँमा आइपुग्नका लागि प्रमुख समस्याका रुपमा बाटो भएको बताउँदै उहाँले यहाँको लामा बगरदेखि थापाखेत, लक्ष्मी मावि हुँदै लामागाउँसम्मको आठ किलोमिटर बाटो तत्काल बनाउनुनपर्ने देखिएको बताउनुभयो ।
हाँडीखोलाबाट लामा बगर हुँदै गाउँपालिकाको कार्यालयसम्म आउने बाटो कालोपत्रे हुने क्रममा रहेको उहाँले बताउनुभयो । यस गाउँलाई अन्नपूर्ण चक्रीय पदमार्गसँगै मनास्लु पदमार्गसँग जोड्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्नकै लागि यस वर्षको ७६ औँ अन्नपूर्ण आरोहण दिवस यही गाउँमा मनाइएको उहाँले बताउनुभयो । विभिन्न कारणले पदमार्गहरू हराइरहेका अवस्थामा सरकारले अघि सारेको दोर्दी पदमार्ग उपयुक्त विकल्प हुनसक्ने बताउँदै उहाँले यस पदमार्गलाई ‘क्याम्पिङ ट्रेल’का रुपमा पनि विकास गर्न सकिने धारणा राख्नुभयो ।
पछिल्ला समयमा नौथर सेराबाट श्रीमञ्ज्याङ, जोर्ने, इलमपोखरी, लिपेलेक र दाम्राङ हुँदै पुनः नौथर सेरा पुग्ने पाँचदिने पदमार्ग दोर्दी गाउँपालिकाको सहयोगमा टान गण्डकी प्रदेशले प्रवर्द्धनको काम अघि बढाएको छ ।
त्यस्तै, लिपेलेकबाट दाम्राङ, नोटाचे, उखण्ड, मेमेपोखरी, कोम्रोडाँडा र बाह्रपोखरी हुँदै हिलेटक्सार पुग्ने १० दिने पदमार्ग तथा पिसहिल हुँदै भुलभुले निस्कने आठदिने पदमार्ग पनि पहिचान गरिएको उहाँले बताउनुभयो ।
यसैगरी, गोरखाको बारपाक–सुलिकोट, अजिरकोट, दूधपोखरी, दोर्दी र ठुलागी हुँदै लमजुङको घेर्मुसम्म जोडिने नयाँ पदमार्ग केन्द्रीय टानको सक्रियतामा पहिचान गरिएको छ ।
धेरै पर्यटकीय सम्भावना भएर पनि उजागर हुन नसकेका अवस्थामा बसाइँसराइको चपेटामा परिरहेको यस गाउँमा पर्यटनका माध्यमबाट पुनः गाउँ भरिभराउ गराउने लक्ष्य राखिएको छ । गाउँको सिरानमा पर्यटकलाई लक्षित गरी भ्यु टावर निर्माण गरिएको मौलिकोट अर्गानिक एग्रो फर्मका व्यवस्थापक रञ्जित चौधरीले जानकारी दिनुभयो ।
श्रीमञ्ज्याङ लामागाउँमा आएका पर्यटक एग्रो फर्मअन्तर्गत रहेको चियाबारीमा पनि रमाउने गरेको उहाँले जानकारी दिनुभयो । करिब १४ रोपनी क्षेत्रफलमा सात वर्षयता चियाखेती सञ्चालन भइरहेको उहाँले जानकारी दिनुुभयो ।
लमजुङको बेँसीसहरबाट करिब दुई घण्टामा सवारीसाधनमार्फत यस गाउँमा आउने सकिने बताउँदै उहाँले पछिल्ला समयमा पर्यटक आउने गरेको बताउनुभयो ।
गाउँ आसपासमा रहेका मौलाकोट, भ्यूटावर, देवीस्थान मन्दिर, स्याङगे छ्योलिङ बौद्ध गुम्बा, आइलभ मन्जाङ, लवम छोर्तेन, पेबोङ्ग छोतेर््न, रि छोर्तेन, फुर्ब सन्दुप ढोनाक छयोलिङ गुम्बा, भ्याङ्गसुक छोर्तेन आदिले गाउँको धार्मिक एवं सांस्कृतिक महत्वलाई थप उजागर गरेको वडाध्यक्ष गुुरुङको भनाइ छ ।
गाउँ पर्यटनको विकासका माध्यमबाट पर्यटकको आगमन बढाउँदै आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
वासुदेव पौडेल र ऋषिराम बराल–रासस
प्रतिक्रिया दिनुहोस