आज: २०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

पाखोबारीका झाडी बदलियो उदाहरणीय बगैँचामा


  • आफ्नै खबर
  • २०८३ जेष्ठ २२, शुक्रबार १ घण्टा अघि
  • ३१ पाठक संख्या
  • म्याग्दी/  बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाँझिएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गर्नुभएको छ । रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किबी र अकबरे खुर्सानीखेती गरेर हराभरा बनाउनुभएको हो ।

    ‘बालिविज्ञान विषयको पढाइ सकेर २०७५ सालमा स्थापना गरेको फार्ममा फलफूलका बिरुवा उत्पादन गर्दै आएको थिएँ’, उहाँले भन्नुभयो, ‘यसपालि उत्तिस र वनमाराले भरिएको दुई ठाउँको ३० रोपनी बाँझो पाखोबारीमा झाडी फाँडेर फलफूलखेती सुरु गरेको छु ।’

    पाँच सय सुन्तला, एक सय कागती, दुई सय टिमुर, ४० वटा ओखर र ३० बोट किबी लगाउनुभएका चोखालले सात रोपनीमा ‘मल्चिङ’ विधिबाट अकबरे खुर्सानीखेती गर्नुभएको छ । उहाँको फार्ममा पाँच हजार सुन्तला र सात हजार कागतीका बिरुवा छन् । सात हजार तीनपाते सुन्तला, सात–सात सय टिमुर र अम्बाको बिरुवा तयारी अवस्थामा छन् ।

    ‘नर्सरीका सबै बिरुवा बिक्री भयो भने १५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छु’, चोखालले भन्नुभयो, ‘फलफूलखेती र बिरुवा उत्पादनका साथै पाँच सय स्थानीय जातका कुखुरा र दुई सय ५० कालिज पनि पालेको छु ।’ माछा र माहुरी पनि पालिएको उक्त फार्ममा १६ रोपनीमा अदुवाखेती भएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा केराखेती पनि सुरु भएको छ ।

    रघुगङ्गा गाउँपालिका–२ मा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा कृषि प्राविधिक विषयको सहायक प्रशिक्षक रहेका चोखाल साँझ, बिहान र बिदाको समयमा फार्ममा व्यस्त हुनुहुन्छ । उहाँलाई भाइहरू पशु प्राविधिक राम र इन्जिनियरिङ अध्ययन गरेका कृष्णले सघाउँदै आएका छन् ।

    वार्षिक २० लाख रुपैयाँदेखि २५ लाख रुपैयाँको कारोबार हुने फार्ममा घरपरिवारका सदस्यबाहेक सिजनमा ७० देखि ८० जनाले रोजगारी पाउने गरेको उहाँले बताउनुभयो । कृषि विकास कार्यालयले नर्सरीको प्लास्टिक घर निर्माण र अदुवाखेतीका लागि सहयोग गरेको छ । चोखाल दाजुभाइ नर्सरी, कुखुरापालन र फलफूलखेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ ।

    रोजगारी र अवसरको खोजीमा धेरै युवा विदेश र बजार पलायन भइरहेको समयमा चोखाल दाजुभाइले बाँझिएको पाखोबारीलाई हराभरा बनाएर सकारात्मक सन्देश दिएका उहाँका छिमेकी सन्दीप खत्रीले बताउनुभयो ।

    बिरुवा, फलफूल र कुखुरा खरिदका लागि ग्राहक फार्ममै आउँछन् । बजारको समस्या छैन । काम गर्ने जनशक्ति नपाउनु फार्म सञ्चालनमा मुख्य चुनौती बनेको सञ्चालक चोखालले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु