
रुकुम पश्चिम/ त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार रुपैयाँ भित्रिएको छ । पालिकाभर दुई हजार ६ सय ५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो ।
त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीका अनुसार यस वर्ष पालिकाभर १५ हजार नौ सय क्विन्टल अदुवा उत्पादन भएको थियो । अदुवा खेती गर्ने दुई हजार ६ सय ५० घरधुरीमध्ये प्रत्येक किसानले करिब दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् ।
पालिकाभर पाँच हजार तीन सय रोपनीमा अदुवा उत्पादन भइरहेको छ । एक रोपनी जमिनमा करिब तीन क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको उहाँको भनाइ छ ।
प्रत्येक किसानले गाउँबाटै प्रतिक्विन्टल तीन हजार पाँच सय रुपैयाँमा अदुवा बिक्री गरेका शाखा प्रमुख कार्कीले बताउनुभयो । व्यापारी अदुवा खरिद गर्न गाउँमै आउने गरेका छन् ।
व्यवसायिक रूपमा अदुवा खेती गर्दै आउनुभएका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो । विगत २२ वर्षदेखि उहाँ निरन्तर अदुवा खेतीमा संलग्न हुनुहुन्छ । यस वर्ष उत्पादन भएकोमध्ये साढे तीन क्विन्टल बीउका लागि राखेको उहाँले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस