आज: २०८३ अषाढ २५, बिहिबार | Thu, 09, Jul, 2026

अपाङ्गता भएका व्यक्तिलाई पालिकाले उद्यमी बनायो


  • आफ्नै खबर
  • २०८३ अषाढ २५, बिहिबार ११ घण्टा अघि
  • ३९ पाठक संख्या
  • भोजपुर/  पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न कुटानीपिसानी मिलसहित विभिन्न आयआर्जनमूलक सामग्री वितरण गरेको छ ।

    अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत ‘व्यावसायिक तथा रोजगार प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको हो ।

    स्थानीय तहले लक्षित वर्गको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारतर्फ उन्मुख गराई उनीहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो ।

    उहाँले भन्नुभयो, ‘सहयोग मात्रै होइन । आयआर्जनसँग जोडिने खालका कार्यक्रममार्फत दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’

    कार्यक्रमअन्तर्गत गाउँपालिकाले ६ वटा कुटानीपिसानी मिल वितरण गरेको छ । यसैगरी सुँगुरपालनका लागि १९ जना, कुखुरापालनका लागि एक जना, अदुवाखेतीका लागि तीन जना र एक जनालाई हिलट्याङ्क उपलब्ध गराइएको छ । यी सामग्रीले लाभग्राहीलाई साना घरेलु उद्यम सञ्चालन गर्न मद्दत गर्ने गाउँपालिकाको भनाइ छ ।

    स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको पौवादुङमा–६ ठूलोदुम्माका  स्थानीय दीपक राईले बताउनुभयो । प्राप्त सामग्रीले आफ्नो दैनिकी सहज बनाउने उहाँको भनाइ छ ।

    ‘यसले घरमै बसेर काम गर्न सकिने अवस्था बनाएको छ’, उहाँले भन्नुभयो, ‘अब आम्दानीको बाटो खुल्ने विश्वास छ । गाउँपालिकाले गरेको सहयोगले हामी असक्तहरुलाई लाभ पुगेको छ ।’

    गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय उत्पादनलाई बजारसँग जोड्न तिवारीभञ्ज्याङमा ‘कोसेली घर’ निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उक्त कोसेली घरमार्फत उत्पादन गरेका कृषि सामग्री सङ्कलन तथा बिक्रीवितरण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले १ देखि ६ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले चार लाख ६० हजार रुपैयाँबराबरको बजेटमा कार्यक्रम सञ्चालन जानकारी दिनुभयो ।

    गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्दै लक्षित समुदायलाई उत्पादन र बजार व्यवस्थापनसँग जोड्ने योजना बनाएको जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु