आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

गाउँकै परिचय बदल्न वडाध्यक्षले लगाएको त्यो जुक्ति


  • आफ्नै खबर
  • २०८३ बैशाख १३, आईतबार १ महिना अघि
  • १०१ पाठक संख्या
  • बागलुङ/  बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाल्नुभयो ।

    अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचय नै बदलिन थालेको छ । हिजोआज रेशगाउँको पहिचान चिया गाउँ बनेको छ ।

    काठेखोला गाउँपालिका–७ मा पर्ने रेशगाउँमा अहिले चियाखेती फैलिँदै गएपछि स्थानीयसमेत यसतर्फ आकर्षित हुँदै गएका छन् । सात वर्ष अगाडि सुरु गरेको चियाखेती अहिले फस्टाउन थालेपछि गाउँलेले बाँझो जमिनसमेत खनीखोस्री चियाका बिरुवा लगाउन सुरु गरेका छन् ।

    बसाइँसराइ गर्न ठिक्क परेका स्थानीय गाउँमै रोकिएका छन् । गाउँ छेउको चिया बगानले गाउँलेलाई खुसीमात्रै दिएको छैन, आयआर्जनमा पनि टेवा पुर्याउन थालेको छ ।

    २०७६ सालमा ताराखोला गाउँपालिकाको सिरुबारीबाट करिब ३० हजार बिरुवा ल्याएर परीक्षणका लागि लगाइएको थियो । सुरुमा बिरुवा लगाउँदा धेरैलाई आम्दानी गर्न सकिन्छ भन्ने विश्वासै लागेको थिएन ।

    कतिपयले त ‘नहुने काम गर्ने थाले’ भन्थे । तर विस्तारै बिरुवा राम्रो हुँदै गएपछि स्थानीयमा आशा पलाएको थियो । अघिल्लो वर्षदेखि उत्पादन हुन थालेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । अहिले अघिल्लो वर्षको तुलनामा धेरै उत्पादन भएको छ ।

    सुरुमा जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जग्गामा चियाखेती सुरु गरिएको र अहिले गाउँको धेरै खाली जग्गामा चिया लगाइएको छ । गाउँका खाली जग्गामा रहेको झाडीसमेत फडानी गरेर चिया लगाइएको वडाध्यक्ष लामिछाने बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘चियाखेती फष्टाएपछि हामी निकै उत्साहित भएका छौँ । हिजोका दिनमा बाँझो बनेको जमिन अहिले चियाले ढाकिएको छ । पैसा फल्न थालेको छ । हामीले गाउँका सबै नागरिकलाई जोड्न थालेका छौँ । चियाले अब बसाइँसराइ पनि रोकिने अपेक्षा लिएका छौँ । व्यक्तिगत रूपमा धेरैले चियाका बिरुवा लगाउन थाल्नुभएको छ ।’

    रेश साना किसान सहकारी संस्थामार्फत चियाखेती थालिएको थियो । वडाध्यक्ष लामिछानेका अनुसार वर्षको नौ महिना चिया टिप्न सकिन्छ । यस वर्ष दुईपटक टिपेको चिया प्रतिकिलो दुई हजार रुपैयाँमा बिक्री भएको छ ।

    यो वर्ष २० लाख रुपैयाँको चिया बिक्री हुने अपेक्षा छ । रेश साना किसान सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले चिया राम्रो उत्पादन भए पनि प्रशोधन गर्ने मेसिनको अभाव हुँदा समस्या भएको बताउनुभयो । 

    उत्पादन भएको चियाका लागि बजारको समस्या छैन । अहिले बागलुङ, पोखरा, काठमाडौँलगायतका बजारमा यहाँको चिया पुग्ने गरेको अध्यक्ष शर्मा बताउनुहुन्छ । अहिले रेशगाउँको टिङरिङ, बौर, फलायडाँडालगायत तीन सय रोपनी क्षेत्रमा चियाखेती गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । चियाखेतीमा गाउँका करिब दुई सय ८० परिवार आबद्ध छन् ।

    जनकल्याण आधारभूत विद्यालयका अध्यक्ष डम्मरबहादुर थापाले चियाखेतीले गाउँमा उत्साह जगाएको बताउनुभयो । विद्यालयको जग्गा धेरै भए पनि झाडीले ढाकिएको स्मरण गर्दै अहिले यहाँबाट पैसा फल्न थालेको उहाँको भनाइ छ । चियाखेतीका लागि गाउँले एकताबद्ध भएर लाग्दा अहिले परिणाम आउन थालेको अध्यक्ष थापाले बताउनुभयो ।

    –रासस

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु