आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल


  • आफ्नै खबर
  • २०८३ बैशाख १४, सोमबार १ महिना अघि
  • १०८ पाठक संख्या
  • चितवन/  माडी उपत्यकाको समग्र जानकारी उपलब्ध गराउने उद्देश्यले माडी नगरपालिकाले ‘एक्सप्लोर माडी’ नामक पोर्टल सञ्चालनमा ल्याएको छ ।

    नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार उक्त पोर्टलमा माडीका पर्यटकीय सम्पदाबारे विश्वका विभिन्न भाषामा अनलाइन अनुवादसहित जानकारी उपलब्ध गराइएको छ ।

    पोर्टलमार्फत माडीका पर्यटकीय स्थल, धार्मिक क्षेत्र, प्राकृतिक आकर्षण, होमस्टे तथा फार्म स्टे, यातायातलगायतका विवरण सहज रूपमा प्राप्त गर्न सकिनेछ । साथै पोर्टलमा माडीमा हाल भइरहेका गतिविधि, मेला–महोत्सव तथा आगामी कार्यक्रमसम्बन्धी जानकारीसमेत समावेश गरिएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार पोर्टलमा एआई प्रणालीसमेत समावेश गरिएकोले प्रयोगकर्ताले माडीबारे प्रत्यक्ष संवाद गर्न सक्नेछन् ।

    ‘नगरपालिकाले एक वर्षदेखि यसको तयारी गर्दै आएको थियो र नयाँ वर्षदेखि सञ्चालनमा ल्याइएको हो’, उहाँले भन्नुभयो, ‘हाल हामीले माडीका विभिन्न स्थानमा क्यूआर कोड राख्ने काम तथा होमस्टे सञ्चालक र अन्य सरोकारवालालाई पोर्टलसम्बन्धी जानकारी गराउने काम गरिरहेका छौँ ।’ उहाँले यो पोर्टल माडीको समग्र अभिलेखका रूपमा रहने बताउनुभयो ।

    यहाँ हाल सात वटा सामुदायिक होमस्टे सञ्चालनमा छन् । पर्यटन व्यवस्थापन र प्रवर्द्धनलाई सहज बनाउन माडी नगरपालिकाले सबै होमस्टेलाई युजर आइडी र पासवर्ड प्रदान गरेको छ । यसै प्रणालीमार्फत होमस्टे सञ्चालनलाई डिजिटल रूपमा व्यवस्थित गर्ने प्रयास गरिएको हो ।

    उक्त प्रणालीमार्फत पर्यटकले कोठा उपलब्धता, खाना–खाजाको दर, विभिन्न प्याकेजसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । साथै, सिधा सम्पर्कमार्फत बुकिङ तथा गुनासो राख्न सकिनेछ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु