आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

सानासाना योजनाले ल्याउन सक्ने ठुलो उपलब्धि


  • आफ्नै खबर
  • २०८३ बैशाख १७, बिहिबार १ महिना अघि
  • १०१ पाठक संख्या
  • इलाम/  माईजोगमाई गाउँपालिका–५ सोयाङको लोक्साङ गाउँका ३६ परिवारको सामूहिक बचत तथा कृषि समूह छ । समूहले सामूहिक रुपमा बेसारखेती गर्दैआएको छ । दुई वर्षअघि एक मन (४० किलो) बेसार रोपेर गत वर्ष २५ मन बीउ उत्पादन गरिएको थियो । यस वर्ष एक सय २० मन उत्पादन हुने अनुमान गरिएको छ ।

    गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत गत वर्ष दुई लाख रुपैयाँ अनुदान दियो । यसपटक हिउँदे अधिवेशनबाट ‘ड्रायर’ मेसिन र पिस्ने मेसिनका लागी दुई लाख ५० हजार रुपैयाँ अनुदान थप गरेपछि किसान उत्साहित भएका छन् ।

    समूहले आफैँ उद्योग खोल्ने तयारी थालेको छ । काँचो बेसारलाई गाउँमै प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाइनेछ ।

    ‘सामूहिकखेती गरेर आर्थिकोपार्जन गर्न २०८० सालमा २४ परिवारले समूह खोल्यौँ । दुई वर्षमा ३६ परिवार जोडिए’, समूहका सचिव सुमन बेगाले भन्नुभयो, ‘रोङ गाउँपालिकाले उत्पादन गरेको कपुरकोट–२ जातको एक मन बेसार प्रतिकिलो ७० रुपैयाँमा ल्याएर रोपेका थियौँ । खन्ने बेला हुन लाग्यो । एक सय २० मनसम्म फल्छ भन्ने अन्दाज छ ।’ बेसार १० रोपनी क्षेत्रफलमा रोपिएको छ ।

    ‘बेसार कटिङ मेसिन ल्याएका छौँ । मेसिनको क्षमता प्रतिघण्टा एक सय देखि तीन सय किलो छ । काँचो बेसार एक पटकमा ६० किलोसम्म सुकाउन सकिन्छ’, सचिव बेगाले भन्नुभयो, ‘जमिन भाडामा लिएका छौँ । उद्योग स्थापना गर्ने तयारी छ । अब बेसार प्रशोधन गरेर प्याकेजिङ गरेपछि विदेशमा बिक्री गर्ने तयारी छ । स्थानीय बजार, काठमाडौँ र हङ्कङ यसको मुख्य बजार हो ।’

    समूहले यसपटक च्याउखेती पनि सुरु गरेको छ । अध्यक्ष जयबहादुर लिम्बूले भन्नुभयो, ‘चार सय किलो उत्पादन भयो । दुई सय रुपैयाँ प्रति किलोका दरले बिक्री गर्यौं । अर्को वर्ष उत्पादन बढाउँछौँ ।’

    गत वर्षदेखि गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सुरु गरेको हो । एउटा वडामा एक उत्पादन बढाउने र गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर सुरु गरिएको अभियान अन्तर्गत वडा नं. ५ लाई बेसारखेतीका लागि छनोट गरिएको थियो ।

    गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेका अनुसार स्थानीयस्तरमा उत्पादन हुनसक्ने कृषिउपजको उत्पादन वृद्धि गरी खाद्यान्नमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

    ‘व्यावसायिक उत्पादन गर्ने कृषक तथा फर्मलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौँ’, अध्यक्ष थेबेले भन्नुभयो, ‘वडा नं. १ मा रूख टमाटर, २ नं. मा जडीबुटी, ३ नं. मा कुखुरापालन, ४ र ६ नं. मा खुर्सानी (अकबरे) र ५ नं. मा बेसारखेतीमा अनुदान दिएका छौँ ।’

    अध्यक्ष थेबेका अनुसार, गत वर्ष ६ वडाका कृषक, कृषि फर्म, समूह तथा सहकारीमा गरी ६७ उद्यमीलाई १५ लाख रुपैयाँ अनुदान वितरण गरिएको थियो ।

    कार्यक्रमको सूचना आह्वान हुन्छ । प्रस्तावना मागेर स्थलगत अवलोकन गरेपछि आर्थिक समितिले निर्णय गर्छ । प्राथमिकताका आधारमा अनुदान वितरण हुन्छ । दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न पनि यो कार्यक्रम महत्वपूर्ण छ ।

    गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत गाउँमै उत्पादन बढाएर आत्मनिर्भर बन्ने र विदेश जानुपर्ने बाध्यता न्यूनिकरण गर्ने कार्यक्रम गरिरहेको छ । गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै रोजगारी सिर्जना भएको छ ।

    यसका लागि दुग्ध तथा घ्यू प्रशोधन, कोदोको बिस्कुट उत्पादन र यस वर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

    गाउँपालिकाले कार्यक्रममार्फत मौरीपालन, अलैँचीखेती, पशुपालन, ब्युटीपार्लर तथा बिस्कुट उत्पादनजस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने उद्यमीलाई अधिकतम तीन लाख रुपैयाँसम्म अनुदान दिएको थियो ।

    गाउँपालिका उपाध्यक्ष प्रवीना राईले भन्नुभयो, ‘व्यवसायमै सक्रिय उद्यमीलाई सामग्री तथा नगद सहयोग गर्ने गरेका छौँ । हाम्रो मुख्य उद्देश्य स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नु हो ।’

    पहिलो वर्ष दुग्ध तथा घ्यू प्रशोधन तालिम दिएपछि वडा नं. १ का तुलबहादुर लिम्बूको कृषि तथा डेरी उद्योग, वडा नं. २ की रेखा रिजालको पाण्डे डेरी उद्योग र वडा नं. ६ का इन्द्र थेबेको एनएस डेरी उद्योगलाई सामग्री सहयोग गरिएको थियो ।

    उक्त कार्यक्रमअन्तर्गत गत वर्ष कोदोको बिस्कुट उत्पादनसम्बन्धी तालिम दिएर उत्कृष्ट ६ व्यवसायीलाई नगद अनुदान दिइएको थियो ।

    वडा नं. १ की पार्वती भट्टराईले सञ्चालन गर्नुभएको भट्टराई बिस्कुट बेकरी उद्योगलाई वस्तुगत सहायता अनुदान दिइएको छ । त्यसैगरी, वडा नं. ३ का रुद्रकुमार सञ्जेलको गैरीगाउँ जैविक कृषि फार्म, वडा नं. ४ का सनबहादुर लिम्बूको सुनौलो कृषि तथा पशुपालन फर्मलाई अनुदान दिइएको थियो ।

    त्यस्तै, वडा नं. ५ का लक्ष्मण खत्रीको कुशिका एकीकृत कृषि तथा पशुपन्छी फर्म, वडा नं. १ की कञ्चन आचार्यको कञ्चन ब्युटीपार्लर तथा प्रशिक्षण केन्द्र र वडा नं. ३ का लक्ष्मी तामाङ र पुजन प्रधानले सञ्चालन गरेको पशुपति पशुपालन तथा कृषि फर्मलाई नगद अनुदान प्रदान गरिएको थियो ।

    यस वर्ष ललिपप निर्माण तथा दुग्ध प्रशोधनसम्बन्धी तालिम ३० जनाले लिएका छन् । अब उक्त सीपलाई व्यावसायिक बनाउनेलाई अनुदान दिइने उपाध्यक्ष राईले बताउनुभयो ।

    बिस्कुट उत्पादनमा दुई लाख रुपैयाँ अनुदान पाउनुभएकी पार्वती भट्टराई थप व्यावसायिक बन्न प्रोत्साहन मिलेको बताउनुहुन्छ । गाउँपालिकामा प्रतिदिन ३० हजार लिटर दुग्ध उत्पादन हुने गरेको अध्यक्ष थेबेको भनाइ छ ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु