आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल


  • आफ्नै खबर
  • २०८३ बैशाख ७, सोमबार १ महिना अघि
  • १६० पाठक संख्या
  • तनहुँ/  सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा पर्यटक बढ्न थालेका हुन् ।

    पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतले जानकारी दिनुभयो । बिदाका दिनमा पाहुनाले होटल भरिभराउ हुने गरेका छन् ।

    उहाँले भन्नुभयो, ‘यतिबेला पर्यटकको मुख्य याम त होइन, तर दुई दिने बिदाले पहिलाभन्दा तेब्बर बढी पर्यटक मानहुँकोट आउन थालेका छन् । पाहुनाको आगमनले हामीलाई उत्साहित बनाएको छ ।’

    सदरमुकाम दमौलीबाट ६–७ किलोमिटरको दूरीमा रहेकाले पनि मानहुँकोटमा पर्यटकको सङ्ख्या बढाउन सहज भएको व्यवसायीको भनाइ छ । व्यवसायी राउतले मानहुँकोटमा खानेपानीको अभाव रहेको बताउँदै प्रतिलिटर डेढ रुपियाँमा पानी किनेर व्यवसाय चलाउनुपर्ने बाध्यता रहेको दुखेसो सुनाउनुभयो ।

    यस स्थानमा जाने सडकको अवस्था सुधार गर्न र पानीको दीर्घकालीन रूपमा समस्या समाधान गर्न आवश्यक भएको व्यवसायी चूडामणि दाहालले बताउनुभयो । व्यास नगरपालिकाले मानहुँकोटको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

    नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि मानहुँकोटदेखि पुलिमर्याङसम्म ‘अल्ट्राम्याराथन’ दौड जस्ता प्रतियोगिता आयोजना गरिँदै आएको जानकारी दिनुभयो ।

    ‘मानहुँकोटको पर्यटन विकास हाम्रो पहिलो प्राथमिकतामा छ’, नगर प्रमुखले भन्नुभयो, ‘अहिले देखिएको खानेपानीको समस्या समाधानका लागि नगरपालिकाको सक्रियतामा योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ ।’

    सिरसिर चल्ने चिसो हावा, सूर्योदय, कुहिरोले ढपक्क ढाकेको दमौली बजारको दृश्य र हिमाली शृङ्खलाको अवलोकनका लागि मानहुँकोट पछिल्लो समय नेपालकै चर्चित गन्तव्यमध्ये एक बनेको छ । यातायातको सहजता र प्रचारप्रसारसँगै यहाँको पूर्वाधार विकास भएमा आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्दै जाने त्यस क्षेत्रका व्यवसायी बताउँछन् ।

    –रासस 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु