आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

दुर्गमका १२२ जनाले देखे आँखा


  • आफ्नै खबर
  • २०८३ बैशाख ८, मंगलबार ३ महिना अघि
  • २१० पाठक संख्या
  • जुम्ला/  जुम्लामा एक सय २२ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । आर्थिक अभाव र भौगोलिक विकटताले मोतियाबिन्दुको उपचार गर्न नसकेका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

    नेपाल नेत्रज्योति सङ्घ जुम्लाको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र रिड्ले आई फाउन्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको दुईदिने आँखा शिविरमा एक सय २२ जना मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति सङ्घ जुम्लाका सभापति जगदीश चौलागाईंले जानकारी दिनुभयो ।

    नेत्रज्योति सङ्घमा सोमबार र मङ्गलबार सञ्चालन भएको उक्त शिविरमा पाच सय ४६ जना बिरामीको आँखा चेकजाँच गरिएको छ ।

    यसअघि यहाँका आठ वटै स्थानीय तहमा भएको मोतियाबिन्दु छनोट शिविरमा पाँच सय ४० जना गरी जम्मा एक हजार ८६ जना बिरामीको हिमालय आँखा अस्पताल पोखराका आँखा विशेषज्ञ चिकित्सक हरिविक्रम अधिकारीको टोलीबाट बिरामीको आँखा चेकजाँच तथा मोतिविन्दुको शल्यक्रिया भएको नेपाल नेत्रज्योति सङ्घका सभापति चौलागाईंको भनाइ छ ।

    अधिकांश आँखाका बिरामीले आर्थिक अभावका कारण उपचार गराउन पाएका थिएनन् । उक्त निःशुल्क शिविरले निकै राहत भएको नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालका आई वर्कर सुपरभाइजर दलबहादुर महताराले जानकारी दिनुभयो ।

    स्थानीय तहमा भएको मोतियाबिन्दु छनोट शिविरबाट ६१ जना बिरामी मोतिविन्दुका लागि सिफारिस भएर आएका थिए । मोतियाबिन्दु देखिएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा चस्मा आवश्यक देखिएका दुई सय ५० जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको चन्दननाथ आँखा अस्पतालका सुपरभाइजर महताराको भनाइ छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु