आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

क्यालिफोर्नियाको ‘नेपाल उत्सव’ ले पर्यटन प्रवर्द्धन


  • आफ्नै खबर
  • २०८३ बैशाख २८, सोमबार ३ हफ्ता अघि
  • ११२ पाठक संख्या
  • अमेरिका/  क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियालगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो । लस एन्जलस, सानडिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत आसपासका राज्य र सहरबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए ।

    सान फ्रान्सिस्को सिटी हलबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेड अवधिभर सहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो ।

    विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली वेशभूषा तथा सांस्कृतिक कार्यक्रमले सान फ्रान्सिस्कोको सडकलाई ‘नेपालमय’ बनाएको थियो । कार्यक्रममा प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत रुचिपूर्वक अवलोकन गरेका थिए ।

    नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको आकर्षण पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी, धिमे तथा लाखे नाच रहेका थिए ।

    उत्सवमा सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु