आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन


  • आफ्नै खबर
  • २०८२ चैत्र २९, आईतबार १ महिना अघि
  • ११६ पाठक संख्या
  • पाल्पा/  दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिले व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।

    कोरोनाको समयमा सङ्घीय सरकारबाट बजेट विनियोजन भई पाल्पा अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्ट केही वर्षयता बिग्रिएर थन्किएको थियो । प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन अभावको समस्या समाधान हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । यसअघि यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल, भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो ।

    जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पतालका साथै सबै बिरामीलाई सजिलो भएको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीले बताउनुभयो ।

    प्लान्ट सञ्चालनपछि पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र नभई लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी मेडिकल र क्लिनिकहरूलाई समेत अक्सिजन सिलिन्डर आपूर्ति गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । प्लान्टमा अक्सिजन सिलिन्डर सानोको तीन सय ५० र ठूलाको ६ सय ५० रुपैयाँसम्ममा खरिदबिक्री हुँदै आएको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले जानकारी दिनुभयो ।

    जिल्लामा अक्सिजन उत्पादन हुँदा यहाँका अस्पतालहरूको ढुवानी खर्च र समयको बचत समेत हुने उहाँको भनाइ छ ।

    पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दो बनाउन अक्सिजन प्लान्ट महत्वपूर्ण रहेको समितिका अध्यक्ष कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।’

    अक्सिजन प्लान्ट सञ्चालन भएसँगै अस्पतालले आगामी वैशाख दोस्रो साताभित्र शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले बताउनुभयो । सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत गरेको थियो ।

    सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै २६ लाख रुपैयाँमा भवन निर्माण गरिएको छ । कोभिडका बेला प्लान्ट सञ्चालनमा आउँदा सहज भए पनि त्यसयता बन्द भएपछि दीर्घरोगीहरू मर्कामा पर्दै आएका थिए ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु