
भोजपुर/ टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौंसम्म निरन्तर उत्पादन दिने तथा बजारको सहज पहुँच हुनेजस्ता कारणले किसानको रोजाइ सुन्तलाखेती बन्न पुगेको हो ।
यहाँका किसानले बारी तथा पाखो जमिनको उपयोग गर्दै सुन्तलाका बगान विस्तार गरिरहेका छन् । सामान्य सिँचाइ, मलखाद व्यवस्थापन र रोगकीरा नियन्त्रणमा ध्यान दिन सकेमा सुन्तलाबाट स्थिर आम्दानी लिन सकिने अनुभव किसान सुनाउँछन् । यही कारणले युवा पुस्तासमेत कृषि पेसातर्फ आकर्षित हुन थालेका छन् ।
टेम्केमैयुङ–२ का वडासदस्य जीवन राईका अनुसार छिनामखु क्षेत्रका किसानले वार्षिक एक लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उत्पादनको मात्रा, बगानको आकार र व्यवस्थापनका आधारमा आम्दानी फरकफरक हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुन्तला यहाँका किसानका लागि भरपर्दो आम्दानीको स्रोत बनेको छ । धेरै किसानले बगान विस्तार गरिरहेका छन् । पहिले सानोस्तरमा खेती गर्नेहरू पनि अहिले व्यावसायिक रूपमा अघि बढिरहेका छन् ।’
वडाअन्तर्गतका बारताङ, छाम्लाखा, कोटाचुङ, राईखीम, ठेवा, रिठाबोटे, रातोमाटे र देवीथानलगायत गाउँहरूमा सुन्तलाखेती बढी मात्रा हुने राईले जानकारी दिनुभयो । यी क्षेत्रमा उत्पादन भएको सुन्तला गुणस्तरीय हुने भएकाले बजारमा राम्रो माग छ ।
सडकको राम्रो पहुँच भएकाले यहाँ उत्पादन भएको सुन्तला खरिद गर्न ठेकेदार सिधैँ किसानको घरसम्म पुग्ने गरेका छन् । जसले गर्दा बजार खोज्न झन्झट ब्यहोर्नु नपर्ने किसानको भनाइ छ । ठेकेदारले बगानबाट सोझै खरिद गर्ने भएकाले बेचबिखनका लागि कुनै समस्या नरहेको किसान बताउँछन् ।
सुन्तला बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च, बालबालिकाको शिक्षा, स्वास्थ्योपचार तथा अन्य आवश्यकता सहज रूपमा पूरा गर्न सहयोग पुगेको स्थानीय किसान रुद्रबहादुर विष्टले बताउनुभयो । केही किसानले त सुन्तलाखेतीबाट भएको आम्दानीलाई अन्य कृषि व्यवसायमा पनि लगानी गर्न थालेको उहाँको भनाइ छ ।
सुन्तलाखेतीको सम्भावनालाई मध्यनजर गर्दै वडाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिनुभयो । उन्नत जातका बिरुवा वितरण, प्राविधिक सहयोग, तालिम तथा बगान व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रममार्फत किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
‘हाम्रो वडा सुन्तला उत्पादनका लागि निकै उपयुक्त क्षेत्र हो’, वडाध्यक्ष राईले भन्नुभयो, ‘विशेषगरी तल्लो भेगमा राम्रो उत्पादन हुने भएकाले त्यहीअनुसार खेती विस्तार भइरहेको छ । वडाले किसानलाई प्रोत्साहन गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको छ ।’
उहाँका अनुसार पछिल्लो समय सुन्तलाखेतीमा आकर्षण बढ्दै जाँदा बाँझो जमिनको सदुपयोग हुन थालेको छ । यसले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्याउनुका साथै स्थानीयस्तरमा रोजगारी सृजना गर्ने कामसमेत गरेको छ । छिनामखु क्षेत्रमा सुन्तलाखेतीले किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
निरन्तर विस्तार भइरहेको यस खेती प्रणालीले भविष्यमा अझै ठूलो आर्थिक सम्भावना बोकेको स्थानीयले बताएका छन् । गाउँमा सबैतिर सुन्तला विस्तार भएकाले बाहिरबाट आउने मानिसलाई आकर्षित गर्ने गरेको किसानको भनाइ छ ।
सुन्तलामा पछिल्लो समय पात पहेँलो हुने, फलमा खरानीजस्तो सेतो देखिने, पातमा विभिन्न खालका दाग देखिने तथा बोट क्रमशः सुक्दै जाने समस्या देखिने गरेको किसानले बताएका छन् ।
कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट करिब आठ सयदेखि एक हजार पाँच सय मिटर उचाइसम्मको क्षेत्र सुन्तलाखेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यस उचाइमा तापक्रम, माटोको अवस्था र वातावरणीय सन्तुलन सुन्तला उत्पादनका लागि अनुकूल हुने प्राविधिकहरू बताउँछन् ।
–रासस
प्रतिक्रिया दिनुहोस