आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ गाः बहालमा


  • आफ्नै खबर
  • २०८३ बैशाख ८, मंगलबार १ महिना अघि
  • १०६ पाठक संख्या
  • ललितपुर/  ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । आज पुल्चोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाः बहाल पुर्‍याइएको छ ।

    वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा विराजमान गराइएको थियो । तिथिअनुसार आज पुल्चोकबाट रथ तानेर गाः बहाल पुर्‍याइएको हो ।

    गुठी संस्थानका अनुसार आज रातो मच्छिन्द्रनाथलाई मीननाथ देवताले स्वागत गर्दै गाः बहालसम्म ल्याइएको हो । बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ अगाडि लाग्नेछ भने मिननाथ देवताको सानो रथ पछि लाग्नेछ ।

    रथ गाः बहाल, सुन्धारा, लगनखेल हुँदै थटिटोल पुर्‍याइनेछ । थटिटोलमा पुगेपछि जात्राको पहिलो चरण सम्पन्न हुने मच्छिन्द्रनाथ मृदङ्ग भजनमण्डलका सदस्य प्रद्युम्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लगनखेलबाट करिब सय मिटर अगाडि रथ तानेर पोडेटोलमा नरिवल फुटाउने र त्यसको भोलिपल्ट महिलाले रथ तान्ने परम्परा रहेको छ ।

    थटिटोलमा रथ विश्राम गरेपछि बिहीबार पात्रो हेरिन्छ र तिथिअनुसार एकदेखि करिब दुई महिनासम्म रथ त्यहीँ रहन सक्छ । त्यसपछि तिथिअनुसार रातो मच्छिन्द्रननाथको रथलाई पश्चिमतर्फ तानिन्छ । कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पुर्याएको चौथो दिन ‘भोटो देखाउने’ प्रचलन रहेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु