आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

ललितपुरमा मिल्यो जीआइएस सबस्टेशन बनाउने जग्गा


  • आफ्नै खबर
  • २०८३ बैशाख १६, बुधबार १ महिना अघि
  • ९४ पाठक संख्या
  • काठमाडौँ/  ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ ।

    गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को स्वामित्वमा रहेको चार रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृती दिएसँगै प्रक्रिया पूरा भएको हो ।

    लामो समयदेखि अवरुद्ध रहेको उक्त सबस्टेशन निर्माण गर्न ऊर्जा तथा जलस्रोत मन्त्रालयले पहल गरेको थियो  । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउनका निम्ति उक्त क्षेत्रमा उच्च क्षमताको जीआइएस सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । तर, जग्गा प्राप्त नहुँदा चार वर्षभन्दा बढी समयदेखि परियोजना रोकिएको थियो ।

    उक्त सबस्टेशन एसियाली विकास बैंक (एडिबी) को ऋण लगानीमा दुई अर्ब रुपैयाँको लागतमा निर्माण हुनेछ । भक्तपुरको ठिमीबाट आउने भूमिगत विद्युत् प्रसारण लाइन बालकुमारीस्थित जीआइएस सबस्टेशनमा जोडिनेछ । तत्पश्चात् टेकु सबस्टेशनमा जोड्ने प्राधिकरणको तयारी छ ।

    उक्त सबस्टेशनको निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्मको विद्युत् माग पूरा गर्न सहज हुनेछ । केयुकेएलले बालकुमारीमा स्थापना गर्ने ढल प्रशोधन केन्द्रलाई आवश्यक पर्ने विद्युत् प्राधिकरणले निःशुल्क दिने र त्यसबापत प्राधिकरणले २५ वर्षसम्मका लागि तीन रोपनी १३ आना दुई पैसा जग्गा उपभोग गर्ने सहमति भएको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु