आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

सुकुमबासीलाई विद्युत प्राधिकरण र कृषि विकास बैङ्कको तालिमकेन्द्रमा राखियो


  • आफ्नै खबर
  • २०८३ बैशाख २१, सोमबार १ महिना अघि
  • ८७ पाठक संख्या
  • भक्तपुर/  काठमाडौँ उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट विस्थापित भएकाहरूलाई भक्तपुरको दुई ‘सेल्टर’ मा आश्रय दिएको छ ।

    भक्तपुरको खरिपाटीस्थित चाँगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनमा सेल्टरका रुपमा अस्थायी बासस्थानको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

    यहाँ ल्याइएका सुकुमबासीलाई खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको छ । खरिपाटीस्थित तालिम केन्द्रमा एक सय ४० जना सुकुमबासीलाई राखिएको छ भने यहाँ राखिएकालाई होस्टेलमा परिवार–परिवार छुटाएर फरक कोठामा राखिएको छ ।

    यसअघि कोरोना भाइरसको महामारीमा पहिलो पटक चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई सोही स्थानमा ४५ दिनसम्म राखिएको थियो । त्यसपछि कोरोना सङ्क्रमितलाई पनि राखिएको यो केन्द्र दुई सय ५० जना अट्ने क्षमताको रहेको केन्द्रले जानकारी दिएको छ ।

    टेकु सुकुमबासी बस्तीबाट सरकारले आफूहरूलाई गाडीमा राखेर यहाँ पुर्याएको बताउँदै केही सुकुमबासीले तत्काल भए पनि खानबस्न पाइरहेको बताए । यहाँ राखिएका सुकुमबासीहरूको अवस्था बुझ्नका लागि प्रधानमन्त्री कार्यालयअन्तर्गतको सचिवालयको एउटा टोली आइतबार यहाँ आएको थियो ।

    त्यसैगरी, सरकारले ३९ जना सुकुमबासीलाई मध्यपुरथिमीको सिन्टिटारस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा राखेको छ । उनीहरूको पनि आवास र खानाको व्यवस्था गरेको छ ।

    दुवै सेल्टरमा रहेका सुकुमबासीका लागि वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले तत्काल स्वास्थ्य सेवा पुर्याउन निर्देशन दिनुभएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले आइतबार सरकारले सुकमबासी राखेको मध्यपुरथिमि र चाँगुनारायणको दुवै सेल्टरमा भक्तपुर अस्पतालको चिकित्सकसहितको टोलीले सामान्य स्वास्थ्य परीक्षण गरेको र आज दुवै सेल्टरमा स्वास्थ्य शिविर, औषधि वितरण र मनोपरामर्श सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु